महाधिवेशनको मुखमै एमाले संस्थापनभित्र तानातान, महासचिवमा पोखरेल र ज्ञवाली भिडन्त

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु हुन लाग्दा संस्थापन पक्षभित्रै पदाधिकारी टुंगो लगाउन सकस देखिएको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन समूहले अहिलेसम्म पदाधिकारीका उम्मेदवार अन्तिम रूपमा तय गर्न नसक्दा महाधिवेशनस्थलमा आन्तरिक छलफल र परामर्श तीव्र बनेका छन् ।

आइतबार रातभर शीर्ष नेताहरूबीच निरन्तर छलफल भए पनि सहमति जुट्न नसकेको बताइन्छ । विशेषगरी महासचिव पदमा दुई जना अनुभवी नेताको दाबी अघि सर्दा अध्यक्ष ओली पदाधिकारी बाँडफाँटमा अप्ठ्यारोमा परेका हुन् । ओली निकट एक नेताका अनुसार महासचिव पदलाई लिएर वर्तमान महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीबीचको आकांक्षाले संस्थापन समूहभित्रै सन्तुलन मिलाउन चुनौती उत्पन्न गरेको छ ।

वर्तमान महासचिव शंकर पोखरेलले आफूले सम्हाल्दै आएको जिम्मेवारीमा निरन्तरता चाहेको स्पष्ट संकेत गरिसकेका छन् । पार्टी संगठन विस्तार, सरकार र पार्टीबीचको समन्वय तथा पछिल्लो समय भएका राजनीतिक उतारचढावमा आफूले खेलेको भूमिकालाई आधार मानेर पोखरेलले दोहोरिने दाबी प्रस्तुत गरिरहेका छन् । उनका समर्थकहरू पनि महासचिव जस्तो महत्त्वपूर्ण पदमा अनुभव र निरन्तरताको आवश्यकता रहेको तर्क गर्दै आएका छन् ।

त्यसैगरी उपमहासचिव प्रदीप ज्ञवालीले भने एक तहको ‘प्रमोसन’सहित महासचिवमा दाबी गर्दै आएका छन् । पार्टी विचार, नीति तथा सार्वजनिक छविको हिसाबले आफू सक्षम रहेको र महासचिवको जिम्मेवारी सम्हाल्न सक्ने उनको बुझाइ छ । ज्ञवालीलाई पार्टीभित्र बौद्धिक र सन्तुलित नेताका रूपमा लिने समूहले पनि नेतृत्व पुस्तान्तरणको सन्देश दिन महासचिवमा उनलाई अघि सार्नुपर्ने तर्क गरिरहेका छन् ।

महासचिव पदमै दुई भेट्रान नेताको दाबी आएपछि अध्यक्ष ओलीलाई समग्र पदाधिकारी संरचना मिलाउन थप दबाब परेको छ । महासचिवसँगै उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा समेत विभिन्न नेताहरूको आकांक्षा रहेकाले एउटा पदको निर्णयले अन्य पदाधिकारीको समीकरणसमेत प्रभावित हुने अवस्था छ । त्यसैले ओलीले हतारमा निर्णय गर्नुभन्दा सबै पक्ष सन्तुलित हुने गरी सहमति खोजिरहेको स्रोतको भनाइ छ ।

महाधिवेशनको बन्दसत्र सुरु भएसँगै नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने तयारी भइरहेका बेला संस्थापन पक्षभित्रै स्पष्ट प्यानल नबन्दा कार्यकर्तामाझ चासो बढेको छ । यद्यपि अन्तिम घडीमा अध्यक्ष ओलीको सक्रिय पहलमा सहमति जुट्ने र संस्थापन पक्षले एकीकृत प्यानल घोषणा गर्ने सम्भावना पनि उत्तिकै रहेको नेताहरू बताउँछन् ।

एमालेको ११ औँ महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वलाई आगामी राजनीतिक चुनौती सामना गर्नुपर्ने भएकाले महासचिव जस्तो पदमा कसलाई जिम्मेवारी दिइन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ । यसैबीच, पदाधिकारी चयनमा हुने निर्णयले पार्टीभित्र शक्ति सन्तुलन र भावी राजनीतिक दिशा निर्धारण गर्ने भएकाले छलफल अझै केही समय चल्ने संकेत देखिएको छ ।   

Share News