चन्द्रागिरी हिल्सले सेयर वितरणपश्चात हकप्रद जारी गर्ने, डाक्यो साधारण सभा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गर्न पुस २३ गते १६औँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले बुधबार बिहान ११ बजे चन्द्रागिरी हिल्स लिमिटेडको बटम स्टेशन परिसर, थानकोट काठमाडौंमा साधारण सभा आयोजना गर्न लागेको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, प्रभु बैंकबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश गरिनेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

Share News