चितवन हात्ती तथा पर्यटन महोत्वस पुस ११ गतेदेखि, पर्यटक आगमन ३० प्रतिशतले वृद्धि हुने

काठमाडौं । आगामी पुस ११ गतदेखि चितवनको सौराहामा १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन गइरहेको महोत्सव तीन दिन अर्थात १३ गतेसम्म हुने छ। 

आयोजकका अनुसार सहआयोजकमा महोत्सवको संरक्षकत्वमा रत्ननगर पालिका युनाइटेड हात्ती सञ्चालन सहकारी र रेष्टुरेन्ट एण्ड एशोसिएन नेपाल, संरक्षकत्वमा रत्ननगर नगरपालिका रहेको छ ।

दुई दशक अघि देखि आयोजना हुँदै आएको यस महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको आयोजकले जनाएको छ । 

महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकको आगमन वृद्धि हुने गरेकोमा यो वर्ष पनि त्यसले निरन्तरता पाउने आयोजकको भनाइ छ । आयोजकका अनुसार महोत्सवलाई सफल बनाउन बनाउन तीनै तहका सरकारसहित वन मन्त्रालय, वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको सहयोग र समन्वय रहेको छ । 

महोत्सवको उद्देश्य चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरूलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्त्वपूर्ण गन्तव्य स्थलको रूपमा चिनाउने रहेको क्षेत्रीय होटल संघ नेपाल चितवनका महासचिव महेश खनालले बताए । उनका अनुसार महोत्सवमा यस वर्षदेखि वन्यजन्तु तथा वातावरणमैत्री अनुकूल स्टल र स्टेजहरू निर्माण गरिने छ ।

महोत्सवका आकर्षणहरू

महोत्सवको अवसरमा क्षेत्रीय होटल संघ नेपाल र रेवान सौराहमा आवद्ध सदस्यहरूको रेष्टुरेण्टमा खाना र आवासमा १० प्रतिशत छुट दिने भएका छन् । 

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब ८० वटा हात्तीहरू सहभागी हुने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज कार्यक्रम रहेको छ । त्यस्तै,  टुरिजम प्रवर्द्धनको लागि अतिथि पाहुनाहरूलाई हात्ती सफारी/जीप सफारी, हात्तीको स्वास्थ्य शिबिर, हातिको दिनचर्या बारे जानकारी, पालिका स्तरीय बुश दौड प्रतियोगिता, हात्तीमैत्री प्रतियोगिताहरु आयोजना हुनेछन् ।

यस्तै, चितवनमा पर्यटनको सम्भावना तथा चुनौतीसम्बन्धी बीटुबी अन्तरक्रिया कार्यक्रम आयोजना हुने छ । अन्तक्र्रिया कार्यक्रम पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरू र स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरूसँग हुने आयोजकले जनाएको छ । 

महोत्वसको अन्य आकर्षणहरूमा मानव वन्यजन्तु सहअस्तित्व र पर्यापर्यटन र संरक्षणमा हात्तीको महत्त्व सम्बन्धमा लाइभ चित्रकला प्रतियोगीता, कलाकारहरूद्वारा विविध सांस्कृतिक कार्यक्रमहरू रहेका छन् । 
यसबाहेक कार्यक्रममा  महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, वातावरणविद् पूर्वसंरक्षण अधिकृतहरूको सन्देशमूलक श्रव्यदृष्य सामग्री निर्माण गर्ने कार्यक्रमसमेत रहेको छ ।

विसं. २०४५ सालबाट सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवले चितवन जिल्लाको पर्यटन विकासमा योगदान दिँदै आएको छ । महोत्सवमा हात्तीलाई पूर्ण जिम्मेवार व्यवहार गरिने स्थापित मापदण्ड अनुसरण गरी कुनै पनि क्रूर व्यवहार नहुने आयोजकले जनाएको छ । 

‘हात्ती हाम्रो धर्म संस्कृति र पर्यटन सग जोडिएको छ, यसलाई हामीले आफ्नै सन्तान जस्तै गरेर पालेको हुँदा हामीलाई हात्तीको धेरै माया लाग्छ,’ महासचिव खनालले भने, ‘ आयोजक समिति, चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड र पशु चिकित्सकहरूको सहकार्यमा कडा मापदण्डहरू बनाइएका छन्, धारिलो वा हानिकारक उपकरणको प्रयोग कडाइका साथ निषेध गरिएको छ ।’

Share News