काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नलड्ने स्पष्ट पारेका छन् । उनले अघिल्लो निर्वाचनकै क्रममा गरेको सार्वजनिक घोषणाअनुसार यसपटक निर्वाचनमा सहभागी नहुने निर्णयमा आफू अडिग रहेको बताएका हुन् ।
गृहजिल्ला नुवाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै केसीले क्षेत्रीय नेतृत्वबाट उम्मेदवारीबारे जिज्ञासा उठेपछि आफ्नो पुरानो अडान दोहोर्याएको बताए । 'क्षेत्रीय सभापतिले के गर्ने दाइ, को–कोलाई पठाउने भन्नुभयो। मैले अघिल्लो चुनावमै अर्को चुनाव लड्दिनँ भनेको हुँ,' उनले भने, 'लड्दिनँ भनेपछि लड्दिनँ ।'
आफ्नो राजनीतिक शैली स्पष्ट पार्दै केसीले आफू बोलेको कुरामा सधैँ टिक्ने व्यक्ति भएको उल्लेख गरे । 'म अर्जुननरसिंह केसी बोल्दै–नबोल्दिनँ, बोलिसकेपछि त्यसमा टिक्छु,' उनले भने, 'त्यतिबेला नै मलाई कहीँ केही राख्नु पर्दैन भनेको थिएँ ।'
उनको यो निर्णयसँगै नुवाकोटसहित कांग्रेसभित्र आगामी निर्वाचनका लागि नयाँ नेतृत्व र उम्मेदवारको खोजी तीव्र हुने संकेत देखिएको छ ।