उपकुलपति नेपालमाथि अनेरास्वियू क्रान्तिकारीको दुर्व्यवहार, आर्थिक अनियमितता गरेको आरोप

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि आइतबार बिहान दुर्व्यवहार भएको छ । अनियमितता गरेको आरोप लगाउँदै नेकपा बहुमत निकट अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थी नेताहरूले मोसो दल्दै दुर्व्यवहार गरेको विश्वविद्यालयका एक प्राध्यापकले जानकारी दिए ।

उनका अनुसार आइतबार बिहान ८ बजेतिर ६ जनाको समूहमा पुगेका अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थीहरूले बेलझुण्डीस्थित उपकुलपति नेपालको क्वाटरमै पुगेर मोसो दल्नुका साथै अभद्र व्यवहार गरेका थिए । 

दाङ प्रहरीका सूचना अधिकारी दीपक चक्र बहादुर शाहले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी खोजीकार्य भइरहेको जानकारी दिए । 

घटनापछि तत्काल प्रहरी टोली परिचालन गरिएको छ । संलग्नहरूलाई नियन्त्रणमा लिने प्रयास भइरहेको शाहले बताए ।

उपकुलपति नेपालमाथि दुव्र्यवहार भएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रमुखसहित इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली विश्वविद्यालय परिसर पुगेको थियो । हाल बेलझुण्डी आसपासका क्षेत्रमा प्रहरी परिचालन गरी घटनामा संलग्नको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

बेलझुण्डीस्थित विश्वविद्यालय परिसरमै प्रहरी चौकी रहे पनि दुव्र्यवहार गर्ने समूह उपकुलपतिको कार्यकक्ष होइन, निजी क्वाटरसम्म पुगेर मोसो दल्नुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको प्राध्यापकहरुले दाबी गरेका छन् । 

यस घटनापछि विश्वविद्यालय परिसरमा सुरक्षा सतर्कता बढाइएको शाहले जानकारी दिए ।

यसैबीच घटनाको जिम्मेवारी अनेरास्ववियू क्रान्तिकारीका लुम्बिनी प्रदेश समिति इञ्चार्ज प्रेमप्रशान्त बोहराले विज्ञप्तिमार्फत लिएका छन् । जारी विज्ञप्तिमा उपकुलपति धनेश्वर नेपालमाथि विभिन्न आरोप लगाइएको छ ।

विज्ञप्तिमा विश्वविद्यालयमा आर्थिक तथा प्रशासनिक अनियमितता, नियुक्ति प्रक्रियामा पक्षपात, विद्यार्थी हितविपरीत निर्णयलगायतका विषय उल्लेख गरिएको छ । आन्दोलनात्मक कार्यक्रमअन्तर्गत उक्त कदम चालिएको दाबी छ । 

तर, आरोपबारे उपकुलपति नेपाल वा विश्वविद्यालय प्रशासनको औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन ।

Share News