काठमाडौं । कलेजो हाम्रो शरीरको मुख्य अंग हो । जसले रगत शुद्धीकरण गर्ने र खानालाई ऊर्जामा रूपान्तरण गर्ने काम गर्छ । तर कलेजोमा समस्या हुँदा वा यसले राम्रोसँग काम नगर्दा हाम्रो शरीरले अनुहारमार्फत चेतावनीको संकेत दिने गर्छ ।
अनुहारमा परिवर्तन आउँदा हामीले समयमै ख्याल गर्यौं भने कलेजो जोगाउन सक्छौं । आउनूहोस आज कलेजो खराब हुँदा अनुहारमा कस्ता संकेतहरू आउँछन्, तिनको बारेमा संक्षिप्त रूपमा बुझौं ।
आँखा र छाला पहेँलो हुनु
आँखा र छाला पहेँलो हुनु कलेजो बिग्रिएको सबैभन्दा मुख्य संकेत हो । जब कलेजोले रगतबाट बिलिरुबिन (पहेँलो पदार्थ) हटाउन सक्दैन तब आँखाको सेतो भाग र अनुहारको छाला पहेँलो हुन्छ । .यसलाई बेवास्ता गर्नु खतरनाक हुन सक्छ ।
अनुहार असामान्य तरिकाले सुन्निने
यदि बिहान उठेपछि अनुहार विशेष गरी आँखा मुनिको भाग धेरै सुन्निएको देखिन्छ भने यो कलेजोको कार्यक्षमतामा कमी आएको संकेत हुन सक्छ । कलेजोमा समस्या हुँदा शरीरमा तरल पदार्थ जम्मा हुन थाल्छ जसले गर्दा सुन्निने गर्छ ।
अनुहारमा कालो दाग
कलेजो बिग्रिएपछि शरीरमा हार्मोनल सन्तुलन बिग्रन्छ । यसका कारण अनुहारमा अचानक खैरो वा कालो दाग देखिन थाल्छल । यसलाई प्रायः छालाको समस्या भनेर गलत बुझिन्छ । तर यो आन्तरिक कलेजो क्षतिको संकेत हुन सक्छ ।
माकुराको जालोको नसा
यदि तपाईंले आफ्नो अनुहारमा माकुराको जालोजस्तै देखिने मसिना र राता नसाहरू देख्नुभयो भने सावधान रहनुहोस् । किनभने यो गम्भीर कलेजो रोगको संकेत हो । जब कलेजोले राम्रोसँग काम गर्न सक्दैन तब बढेको हर्मोनले रक्तनलीहरूलाई फैलाउँछ । यसले छालाको सतह नजिकै माकुरा जस्तो ढाँचा सिर्जना गर्छ । यी साना रक्तनलीहरू कलेजोको क्षतिको संकेत हुन सक्छन्, विशेष गरी सिरोसिसको ।