प्रधानमन्त्रीले निर्वाचन कानुनबारे राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले सोमबार प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन तथा त्यसको व्यवस्थापनसम्बन्धी विषयमा राजनीतिक दलका प्रतिनिधि र नागरिक प्रतिनिधिसँग छलफल गर्ने भएकी छन् ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलका अनुसार सिंहदरबारमा दिउँसो १ बजे हुने छलफल कार्यक्रममा गृह मन्त्रालय र निर्वाचन आयोगको तर्फबाट प्रस्तुतीकरण हुनेछ । छलफलमा विद्यमान निर्वाचन कानुन, आवश्यक सुधार, कार्यान्वयनका चुनौती तथा आगामी निर्वाचन व्यवस्थापनका विषयमा विचार–विमर्श हुने अपेक्षा गरिएको छ ।

सरकारले निर्वाचन प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले सरोकारवालासँग सुझाव संकलन गर्न छलफल आयोजना गरिएको जनाएको छ ।

Share News