काठमाडौं । काठमाडौं महानगरमा १ सय ७ वटा विद्यालय सञ्चालनमा नआएको पाइएको छ । काठमाडौं महानगरबाट सञ्चालनका लागि अनुमति लिइसकेका तर सञ्चालनमा नआएको महानगरले जनाएको छ ।
महानगरको शिक्षा विभागले एक सूचना जारी विद्यालय सञ्चालकलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका नगर शिक्षा समितिको मिति २०८२ साउन २८ गतेको निर्णय बमोजिम विगतमा अनुमति पाई सञ्चालन भएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीका लागि शिक्षा विभागले स्थलगत रूपमा अनुगमन, रुजु, यकिन गरी अनुमति खारेजीका सम्बन्धमा आवश्यक निर्णय हुन कार्यपालिकामा पेश गर्ने निर्णय भएको छ ।’
महानगरले यी १ सय ७ विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक ,सञ्चालक, व्यवस्थापक र गुठीयारले १५ दिनभित्र काठमाडौं महानगरपालिका शिक्षा विभाग, कमलादीमा सम्पर्क गर्न भनेको छ ।
भनेको मितिमा अटेर गरी सम्पर्कमा नआउने विद्यालयलाई महानगरपालिका शिक्षा ऐन, २०७५ दफा १३ (ट) बमोजिम विद्यालय बन्दका लागि कार्यपालिकामा सिफारिस गरिने चेतावनीसमेत महानगरले दिएको छ ।