काठमाडौं । यो वर्ष सरकारले ३ लाख बढी किशोरीहरूलाई एचपीभी खोप दिने भएको छ । १० वर्ष उमेर पुगेका किशोरीहरूलाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पाठेघर मुखको क्यान्सरविरुद्ध प्रयोग हुने एचपीभी खोप दिन लागेको हो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। अभियान गौतमले एचपीभी खोप यो वर्षदेखि नियमित खोप सूचीमा परेको बताए ।
सरकारले एचपीभी खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको छ ।
नेपालमा हरेक वर्ष दुई हजार १ सय ६९ जना महिलालाई पाठेघरको क्यान्सर हुने गरेको अनुमान छ भने हरेक वर्ष एक हजार ३ सय १३ जना महिलाको यही रोगका कारण मृत्यु हुने गरेको छ ।
पाठेघरको मुखको क्यान्सरको मुख्य कारण हुमन पापिलोमा भाइरसको संक्रमण हुनु हो । नेपालमा ८० प्रतिशत पाइएको पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिको हुमन पापिलोमा भाइरस रहेको छ ।
गत वर्ष सरकारले १० देखि १४ वर्ष उमेर समूहका १४ लाख २८ हजार ८८९ जना किशोरीलाई यो खोप दिएको थियो ।
एचपीभी खोप कार्यक्रम आगामी फागुन महिनामा सञ्चालन हुनेछ ।
गत वर्षको खोप कार्यक्रमका लागि २ अर्ब १३ करोड ७४ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।