काठमाडौं । नेपाल सरकारले विदेशी पर्यटकका लागि लाग्दै आएको पदयात्रा (ट्रेकिङ) अनुमति दस्तुरमा महत्त्वपूर्ण परिवर्तन गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार अध्यागमन नियमावली, २०५१ संशोधन गर्दै हालसम्म लागू रहेको पहिलो १० दिनका लागि प्रतिव्यक्ति ५०० अमेरिकी डलर र त्यसपछि प्रतिदिन ५० डलर लिने व्यवस्था हटाइएको छ ।
नयाँ व्यवस्थाअनुसार अब विदेशी पर्यटकले पदयात्रा अनुमति लिन प्रतिदिन प्रतिव्यक्ति ५० अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा मात्र तिर्नुपर्नेछ । यो निर्णय नियमावलीको अनुसूची–१२ अन्तर्गत पदयात्रा अनुमति दस्तुरसम्बन्धी व्यवस्था हेरफेर गर्दै कार्यान्वयनमा ल्याइएको हो ।
सरकारले यस कदमलाई पर्यटनमैत्री सुधारका रूपमा प्रस्तुत गरेको छ । यसले विदेशी पर्यटकलाई राहत दिने अपेक्षा गरिएको छ ।
पर्यटन व्यवसायीहरूका अनुसार पुरानो संरचनाले छोटो समयका पर्यटकलाई निरुत्साहित गर्दै आएको थियो । अब दैनिक दर प्रणाली लागू भएपछि लचिलो यात्रा योजना, लामो बसाइ र पर्यटक संख्या वृद्धि हुने विश्वास गरिएको छ ।
सरकारको यो निर्णयले विशेषगरी अन्नपूर्ण, सगरमाथा, लाङटाङलगायत प्रमुख पदयात्रा मार्गमा पर्यटन गतिविधि बढाउने र स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ।