काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी) मा राजेन्द्र भट्टराई बढुवा भएका छन् । यसअघि राष्ट्र बैंकको निर्देशक रहेका भट्टराई वष्ठितमका आधारमा स्वतः कार्यकारी निर्देशकमा बढुवा भएका हुन् ।
विमलराज खनाल अनिवार्य अवकाशमा गएसँगै प्रशासन सेवातर्फको एउटा कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पद रिक्त रहेको थियो । राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशक पदमा कार्यरत अधिकृतमध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियम (२) अनुसार भट्टराईलाई ईडीमा बढुवा गर्ने निर्णय भएको मानव संसाधन व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले जानकारी दिए ।
भट्टराईलाई वित्तीय संस्था व्यवस्थापन विभागको जिम्मेवारी प्रदान गरिएको छ । अर्घाखाँचीका राजेन्द्र भट्टराई वि.सं २०५३ चैत २७ गते सहायक पदबाट राष्ट्र बैंक प्रवेश गरेका हुन् । कार्यकारी निर्देशकमा बढुवा भएसँगै उनी राष्ट्र बैंकको डेपुटी गभर्नरका लागि दाबेदार बनेका छन् ।