काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा विगतदेखि गत भदौको जेनजी आन्दोलनमा समेत पहिलो तारो निजी क्षेत्र नै बनेको बताएका छन् । कोहलपुरमा आयोजित महोत्सवको उद्घाटन गर्दै अध्यक्ष ढकालले भने, ‘चाहे त्यो २०६२/६३ को जनआन्दोलन होस् या गत चैतको, अथवा गत भदौको जेनजी आन्दोलन, सधैँ निजी क्षेत्र नै आक्रमणको तारो बनेको छ । यसबाट निजी क्षेत्र र समग्र अर्थतन्त्रमा नराम्रो असर परेको छ।’
अध्यक्ष ढकालले निजी क्षेत्र कुनै व्यक्ति या कम्पनी विशेषको नभएर मुलुकको अर्थतन्त्रकै इन्जिन तथा नेपालको समृद्धिको आधार हो भन्ने तथ्य अब राज्यले नै सबैलाई बुझाउनु जरुरी रहेको र त्यसो भयो भनेमात्र आगामी दिनमा निजी क्षेत्रले यस्तो अवस्था भोग्नु नपर्ने स्पष्ट गरे ।
कहिले भूकम्प, कहिले कोभिड महामारी तथा कहिले अन्य कारणले संकटमा परिरहेको मुलुकको अर्थतन्त्र र समग्र निजी क्षेत्र नै अहिले आगजनीबाट ध्वस्त हुन पुगेको उनले बताए । तर, खरानीबाट उठ्नुपर्ने बाहेकको अर्को विकल्प नरहेकोले अब सबैले मनोबल उकासेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
मुलुकको समग्र निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको मनोबल उकास्न सरकारसँग संवाद गर्दै आएको र निजी क्षेत्रको संरक्षणका लागि सरकार समक्ष प्रस्तुत गरेको ‘प्राइभेट सेक्टर प्रोटेक्सन प्लान’ लाई मन्त्रिपरिषद बाटै पास गर्ने आश्वासन दिएको पनि सुनाए ।
मुलुकको अर्थतन्त्रमा कम्तीमा ८१ प्रतिशत योगदान गरेको निजी क्षेत्र यतिखेर मनोबल खस्किएर निराश अवस्थामा रहेको चर्चा गर्दै अध्यक्ष ढकालले स्थानीय स्तरमा आयोजना हुने यस्ता मेला महोत्सवबाट पनि आर्थिक गतिविधिहरू चलायमान बनाउन सहयोग पुग्ने धारणा राखे ।
अध्यक्ष ढकालले यस प्रकारका मेला महोत्सवहरुमा स्थानीय उत्पादनलाई प्रश्रय दिन र मौलिक उपज, संस्कृति र परम्पराको जगेर्ना गरी स्थानीय प्रतिभाहरूलाई प्रेरणा प्रदान गर्ने काम गर्न आयोजकहरूलाई आग्रह पनि गरे ।