‘जे गर्छु नेपालमै गर्छु’ नारासहित राष्ट्रिय घर निर्माण फेस्ट हुँदै, १५० भन्दा बढी स्टलको प्रदर्शनी

काठमाडौं । युवा उद्यमीहरूको समूह र स्कील सेवाको सक्रियतामा आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘राष्ट्रिय घर निर्माण फेस्ट २०८२’ आयोजना हुने भएको छ ।

‘जे गर्छु नेपालमै गर्छु, जे गरे पनि यही माटोमा गर्छु’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो मेला केवल प्रदर्शनी मात्र नभएर सुरक्षित र गुणस्तरीय घर निर्माणको एउटा महाअभियान भएको आयोजकले जनाएको छ ।

बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै घर निर्माण फाउन्डेसनका अध्यक्ष उपेन्द्र तिमल्सिना, निर्देशकहरू सफल प्रधान र शक्ताक्षी मिश्रले मेलाको तयारी र यसका उद्देश्यबारे जानकारी दिए । 

आयोजकका अनुसार मेलामा १५० भन्दा बढी स्टलहरू रहनेछन् । जसमा घर निर्माणका लागि आवश्यक जगदेखि छतसम्मका सामग्रीहरू (सिमेन्ट, डन्डी, पाइप, पेन्ट्स, फर्निचर, इन्टेरियर) एउटै छानामुनि उपलब्ध हुनेछन् । उपभोक्ताले विभिन्न ब्रान्डहरूबीच तुलना गरी सही निर्णय लिन सक्नेछन् । 

मेलामा विश्वकै सबैभन्दा ठूलो पुस्तक प्रदर्शन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गर्ने प्रयाससमेत गरिनेछ । 

देशका ५० भन्दा बढी इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले तयार पारेका ६० भन्दा बढी घरका मोडेलहरू प्रतिस्पर्धामा रहनेछन् । उत्कृष्ट तीन मोडेलले क्रमशः १ लाख, ६० हजार र ४० हजार नगद पुरस्कार पाउनेछन् । 
मेलामा निर्माण क्षेत्रका विज्ञहरूसँग घर निर्माणका चुनौती, प्रविधि र अवसरबारे दैनिक रूपमा छलफल हुनेछ । 

अध्यक्ष तिमल्सिनाले कमाउने घरको अवधारणा प्रस्तुत गरे । उनका अनुसार  १ करोडको लगानीमा बनाइने यस्ता लग्जरी घरबाट दैनिक १५ देखि २० हजारसम्म आम्दानी गर्न सकिन्छ ।

आधुनिक प्रणालीबाट घरका कोठा वा फ्ल्याट भाडामा दिएर दैनिक आम्दानी गर्ने सकिने मोडल ह्वाइट रुम्स रहेको छ । यस्तै, डोम हाउस जुन ७ देखि १० लाखको लगानीमा बन्ने भूकम्प प्रतिरोधी र इको-फ्रेन्डली घरहरू, जसले महिनामा २ देखि ३ लाखसम्म आम्दानी दिन सक्छन् । 

आयोजकले यी आम्दानीका आधारहरू वर्तमान बजारको हस्पिटालिटी र डिजिटल प्लेटफर्मको मागलाई हेरेर तय गरिएको बताए । साथै, पुरानो घरलाई पनि नयाँ मोडालिटीमा लैजान सकिने र त्यसका लागि आवश्यक रेनोभेसन र इन्टेरियर सेवाबारे पनि मेलामा विज्ञहरूले परामर्श दिने जानकारी दिइएको छ । 

निर्देशक सफल प्रधानले देशमा आर्थिक मन्दीको चर्चा भइरहँदा युवाहरूले सामूहिक रूपमा काम गरेर देखाउन यो मेला आयोजना गरेको बताए ।

null

मेलामा मुख्य प्रायोजक प्लम्बर पाइप्स र सगुन प्लाइलगायतका स्वदेशी ब्रान्डहरूको बलियो उपस्थिति रहनेछ । सगुन प्लाइका बुद्धिप्रसाद पौडेल र प्लम्बर पाइप्सका सन्जीव धिमालले नेपाली उत्पादनहरू अन्तर्राष्ट्रिय गुणस्तरका रहेको र उपभोक्ताले यस मेलाबाट सही सामग्री छनोट गर्न सक्ने विश्वास व्यक्त गरे । 

प्रवेश निःशुल्क रहेको यो मेलाले घर बनाउन चाहने साधारण नागरिक, इन्जिनियरिङका विद्यार्थी र लगानीकर्ताहरूका लागि एउटा सुनौलो अवसर प्रदान गर्ने आयोजकको दाबी छ । आयोजकले २ सय करोडको आर्थिक कारोबार हुने अपेक्षा गरेको छ ।

शिवम् सिमेन्ट पावरर्ड वाई रहेको यस मेलामा प्लम्बर पाइपले मुख्य सहकार्य गरेको छ  । यस्तै, सेनेटरी पार्टनरका रुपमा नेपोभिट, युपीभीसी, पञ्चाकन्या मीम्याक्स, प्रोपटी, पार्टनरका रुपमा सारा सेवास्वाती इन्टरप्राइजेज, सोफाहबलगायत रहेका छन् । 

Share News