काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पुस ९ गतेसम्ममा कुल ४ अर्ब २१ करोड १३ लाख ६७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जुन कुल आम्दानी लक्ष्यको २७.८६ प्रतिशत हो ।
महानगरले चालु आवको लागि राजश्व आम्दानीतर्फ १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ राजश्व लक्ष निर्धारण गरिएको थियो । जसमा आन्तरिकतर्फ १० अर्ब १२ करोड ६४ लाख रुपैयाँ रहेको छ भने नेपाल सरकार र प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजश्व बाँडफाँटबाट प्राप्त हुने लक्ष्य ४ अर्ब ४ करोड ३४ लाख रुपैया अनुमान गरेको थियो ।
पुस ९ गतेसम्म महानगरले आन्तरिक आयतर्फ कुल २ अर्ब ६७ कराृेड ७३ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ भने राजश्व बाँडफाँटबाट ७७ करोड ९९ लाख ८० हजार रपैयाँ संकलन गरेको छ । महानगरको आन्तरिकतर्फ कुल लक्ष्यको २६.४४ प्रतिशत प्रगति भएको देखिन्छ ।
त्यस्तै, महानगरले राजश्व बाडफाँटबाट ७७ करोड ९९ लाख ८० हजार रुपैयाँ र संघ र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ७५ करोड ३९ लाख ९८ हजार रुपैयाँ संकलन गरेको छ ।
४ अर्ब ६४ करोड खर्च
महानगरले चालु आवको पुस ९ गतेसम्ममा ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च गरेको छ । जुन कुल विनियोजनको १८.४८ प्रतिशत हो । समग्रलाई खर्च प्रतिशतमा हेर्ने हो भने चालू खर्च २८.४४ प्रतिशत र पूँजीगत खर्च १२.३९ प्रतिशत भएको छ ।
महानगरले चालु आवको लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चितकोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बजेट छुट्याएको थियो ।
त्यस्तै, पुस ९ गतेसम्ममा महानगरले कार्यालय सञ्चालन तथा प्रशासन क्षेत्रमा सबैभन्दा बढी ४५.९९ प्रतिशत खर्च भएको छ । पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत खर्च भएको छ । त्यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२.०६ प्रतिशत खर्च भएको छ।
विभागअनुसार विनियोजित बजेटमा खर्चको विश्लेषण गर्दा प्रशासन विभागले कुल विनियोजित बजेटको ४६.५९ प्रतिशत खर्च गरेको छ । जसमा चालुतर्फ ४९.१८ प्रतिशत र पुँजीगततर्फ १०.२३ प्रतिशत विनियोजित बजेटमा खर्च भएको महानगरले जनाएको छ ।
त्यसैगरी, आन्तरिक लेखा परीक्षण एकाईको खर्च प्रतिशत ३८.७२ प्रतिशत, हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको २७.७३ प्रतिशत र अन्तर्राष्ट्रियसम्बद्ध सचिवालयको २४.७९ प्रतिशत खर्च भएको छ ।
काठमाडौं महानगरको वडा कार्यालयहरूमा निकासा हुने रकमका आधारमा खर्चलाई विश्लेषण गर्दा पुस ९ गतेसम्ममा कुल निकासा भएको रकममध्ये काठमाडौं महानगरपालिका वडा नं. ७ ले सबैभन्दा बढी खर्च गरेको देखिन्छ । सो वडाले चालू खर्च शीर्षकमा २४.९२ प्रतिशत र पुँजीगत खर्चमा ३२.३३ प्रतिशत खर्च गरी समग्र कुल ३१.५३ प्रतिशत खर्च गरेको छ ।
त्यसैगरी, वडा नं. १६ ले कुल समग्र खर्च २६.१४ प्रतिशत खर्च गरेको छ भने वडा नं. २३ ले २३.३१ प्रतिशत खर्च गरेको देखिएको छ । वडा नं. १४ र वडा नं. १९ ले कमश: २१.९२ प्रतिशत र १९.६५ प्रतिशत खर्च गरेको छ ।