काठमाडौं । छाला विशेषज्ञ, उत्पादक र सौन्दर्यकर्मीहरूले नेपालीहरूको छाला हेरचाह गर्ने तरिका र बजारमा उपलब्ध उत्पादनहरूमाथि पुनर्सोंच गर्नुपर्ने आवश्यकतालाई जोड दिएका छन् ।
नेपालको पहिलो ब्युटी एक्स्पो कस्मेटिकामा बोल्दै उनीहरूले यस्तो आवश्यकता औंल्याएका हुन् ।
उनीहरूका अनुसार नेपालको शैक्षिक पाठ्यक्रम र हाम्रो संस्कृतिमा स्वास्थ्य र सरसफाइलाई समेटिए पनि छालाको सुरक्षालाई कहिल्यै प्राथमिकता दिइएन ।
छाला विज्ञ डा. विज्ञान जोशीले कोरिया वा जापानजस्ता देशहरूमा सानै उमेरदेखि छालाको सुरक्षाबारे पढाइ हुने जानकारी दिए ।

छालाको सुरक्षासम्बन्धी जानकारी नभएर नै नेपालमा ३०/३५ वर्ष पुगेपछि समस्या देखिन थाल्ने र उमेरभन्दा अगाडि नै बुढो देखिने गरेको उनको भनाइ छ ।
नेपालमा उपलब्ध ९० प्रतिशतभन्दा बढी कस्मेटिक उत्पादनहरू विदेश (कोरिया, जापान, अमेरिका, टर्की आदि) बाट आउँछन् । ती उत्पादनहरू त्यहाँको जनसंख्या, हावापानी र छालाको प्रकृतिमा अनुसन्धान गरेर बनाइएका हुन् ।
छलफलमा एउटा उदाहरण दिइएको थियो– सगरमाथा चढ्न बनाइएको याकको ऊनको ज्याकेट काठमाडौंको गर्मीमा लाउनुको कुनै अर्थ छैन । त्यसैगरी विदेशको चिसो र कम यूभी किरण भएको ठाउँका लागि बनेको क्रिमले नेपालको उच्च यूभी रेडिएसन र प्रदूषण भएको वातावरणमा काम नगर्न सक्छ ।
त्यसैले नेपाली छाला र यहाँको वातावरणलाई ध्यानमा राखेर अनुसन्धान गरिएका उत्पादनहरू प्रयोग गर्नु आवश्यक छ ।
नेपाली महिला र पुरुषहरूमा चायापोतो एउटा ठूलो समस्याको रूपमा रहेको छ । यसका मुख्य तीन कारणहरू छलफलमा औंल्याइएको छ । विशेषगरी गर्भावस्था वा अन्य औषधिहरूको सेवनले गर्दा हर्मोनल गडबडीमा हुन जान्छ जसले गर्दा चायापोतो देखिने गर्छ । नेपालमा घामको नकारात्मक किरणको प्रभाव उच्च छ । जसले मेलानिन बढाउँछ ।
बजारमा पाइने सस्तो र तत्काल गोरो बनाउने दाबी गर्ने स्टेरोइडयुक्त क्रिमहरूले छालाको माथिल्लो पत्र नष्ट गरिदिन्छन् । जसले पछि झन् भयानक चायापोतो निम्त्याउँछ ।
सनस्क्रिनलाई लिएर नेपाली समाजमा धेरै भ्रमहरू छन् । विज्ञहरूका अनुसार धेरैले जाडोमा घाम ताप्दा सनस्क्रिन लगाउँदैनन् । तर जाडोको घाम झन् हानिकारक हुन सक्छ ।
सनस्क्रिन बिहान एक पटकमात्र लगाएर पुग्दैन । यसलाई दिनको तीन पटक प्रयोग गर्नुपर्छ । विज्ञका अनुसार सनस्क्रिम बिहान ८ बजे, दिउँसो १२ बजे र २ बजे गरी दिनको तीन पटक लगाउनु पर्छ ।
अनुहारका लागि कम्तीमा एक चिया चम्चा बराबरको मात्रा अनिवार्य छ ।
सौन्दर्यकर्मी निरम बस्नेत भन्छिन्, ‘अरूले प्रयोग गरेको वा महँगो भएकै भरमा उत्पादनहरू नकिन्नुहोस् । आफ्नो छालाको प्रकृति बुझेर मात्र उत्पादन रोज्नुपर्छ । अरूको सल्लाहमा भन्दा पनि विशेषज्ञको परामर्शमा र आफ्नो छालाले कसरी रियाक्ट गरिरहेको छ भन्ने कुरामा ध्यान दिएर स्किन केयर रुटिन बनाउनुपर्छ ।’
विज्ञका अनुसार नेपाली छालाका लागि अब कपीपेस्ट स्किन केयरले पुग्दैन । यहाँको उचाइ, सूर्यको प्रकाशको तीव्रता र हाम्रो खानपान अनुसारका स्थानीय उत्पादन र बानीहरूको विकास गर्न जरुरी छ ।