एभरेस्ट समिटियर्स समिट २०२६ काठमाडौंमा आयोजना हुने

काठमाडौं । एभरेस्ट एलायन्स नेपालले ‘हिमालयन इनोभेसन फर अ सस्टेनेबल फ्युचर’ भन्ने मूल नारासहित एभरेस्ट समिटियर्स समिट २०२६ आयोजना गर्ने औपचारिक घोषणा गरेको छ । समिटको घोषणा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत गरिएको हो ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर सन् २०२६ मे १७ र १८ मा काठमाडौंमा आयोजना हुने उक्त समिटले सगरमाथा आरोहणको ऐतिहासिक उपलब्धिलाई सम्मान गर्दै हिमाली क्षेत्रको दिगो भविष्यबारे विश्वव्यापी संवादको थालनी गर्ने आयोजकको लक्ष्य रहेको छ ।

समिटमा नेपाल तथा विश्वभरका सगरमाथा आरोही, नीति–निर्माता, पर्वतारोहण संस्थाहरू, संरक्षण अभियन्ता, पर्यटन व्यवसायी, अनुसन्धानकर्ता तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहभागिता रहनेछ । हिमाली क्षेत्रको संरक्षण, आरोही सुरक्षा, जलवायु परिवर्तन, दिगो पर्यटन र नवप्रवर्तनका विषयमा उच्चस्तरीय छलफल हुने जनाइएको छ ।

यसअघि सन् २०२५ मा 'महान व्यक्तित्वहरूको सम्मान, भविष्यलाई प्रेरणा' नारासहित सम्पन्न पहिलो एभरेस्ट समिटियर्स समिटले नेपाललाई विश्व पर्वतारोहण समुदायमा नेतृत्वदायी भूमिकामा स्थापित गर्न महत्वपूर्ण योगदान दिएको आयोजकको भनाइ छ । उक्त समिटले नीति संवाद, अन्तर्राष्ट्रिय सहकार्य र पर्वतीय संरक्षणका क्षेत्रमा ठोस आधार तयार पारेको थियो ।

एभरेस्ट एलायन्स नेपालले एभरेस्ट समिटियर्स समिट २०२६ लाई केवल स्मरणात्मक कार्यक्रम नभई सगरमाथा आरोहण अनुभवको संरक्षण, अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन र नैतिक तथा दिगो पर्वतारोहण अभ्यासको प्रवर्द्धन गर्ने दीर्घकालीन मञ्चका रूपमा विकास गर्ने जनाएको छ ।

समिटमा मुख्य वक्तव्य, विषयगत प्यानल छलफल र नीति संवाद समावेश हुनेछन् । फोहोर व्यवस्थापन, आरोही सुरक्षा, जलवायु जोखिम, हिमाली पर्यटनका चुनौती र समाधानबारे गहन छलफल गरिनेछ । साथै, सगरमाथालाई साझा विश्व सम्पदा मान्दै सामूहिक संरक्षणको आवश्यकता पुनः पुष्टि गरिनेछ ।

सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था, पर्वतारोहण महासंघ, शैक्षिक संस्था, प्रायोजक, विश्वव्यापी आरोहण समुदाय तथा सञ्चार माध्यमलाई समिट सफल बनाउन सहकार्यका लागि आह्वान गरिएको छ । सहभागी हुन इच्छुक सगरमाथा आरोही तथा सरोकारवालाहरूका लागि दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरिएको आयोजकले जनाएको छ ।

एभरेस्ट एलायन्स नेपाल सगरमाथा आरोही तथा पर्वतीय पेशाकर्मीहरूको राष्ट्रिय सामाजिक मञ्च हो, जसले हिमाली संरक्षण, वातावरणीय दिगोपन, नैतिक पर्वतारोहण अभ्यास र विश्वव्यापी पर्वतीय सहकार्यमा नेपालको नेतृत्व सुदृढ गर्ने उद्देश्य राख्दै काम गर्दै आएको छ ।

Share News