समानुपातिक उम्मेदवारी बन्द सूची एमालेले टुंग्यायो, अन्य दल कसरतमा

काठमाडौं । पुस १३ र १४ गते राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने समयसीमा तोकिएको छ । यससँगै दलहरू बन्द सूची तयार पार्ने चटारोमा छन् ।

बिघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सोमबार दिउँसो बस्ने कार्यसम्पादन समितिको बैठकबाट उम्मेदवारी टुंग्याउने जनाएको छ । दिउँसो २ बजेसम्म बन्द सूची लिएर आयोग पुग्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

दोस्रो ठूलो दल नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची टुंग्याएको जनाएको छ । आइतबार बसेको सचिवालय बैठकले ११० जनाको नाम लगभग टुंगो लगाएको एमाले नेताहरूले जनाएका छन् । सोमबार सूचीलाई अन्तिम रूप दिएपछि बन्द सूची लिएर आयोग जाने कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

एमाले नेताहरूका अनुसार पूर्व उपाध्यक्ष गुरु बराल खस–आर्यतर्फ पहिलो नम्बरमा छन् भने खस–आर्य महिलातर्फ पद्मा अर्याल सूचीको पहिलो नम्बरमा रहेकी छन् । पिछडिएको क्षेत्रतर्फ गोरख बोगटी र अपाङ्गता महिलातर्फ यशोदा बराल सूचीको पहिलो नम्बरमा परेका छन् ।

मधेशी क्लस्टरतर्फ चण्डेश्वर मण्डल, जनजाति समूहमा पुरुषतर्फ रामेश्वर रानामगर र महिलातर्फ भूमिका सुब्बा पहिलो नम्बरमा परेका छन् । यसैगरी थारु पुरुषतर्फ कृपाराम राना थारु र महिलातर्फ मञ्जु चौधरी र शान्ता चौधरीमध्ये एक जना पहिलो नम्बरमा पर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए ।

दलित समूहबाट मनोहर बी. पौडेल पुरुषतर्फ पहिलो नम्बरमा परेका छन् भने महिलातर्फ विष्णुमाया विक पहिलो नम्बरमा रहेकी छन् । मुस्लिम समूहबाट मोहम्मद गरुण हलुवाई र साजिदा सिद्धिकी समानुपातिक सूचीको पहिलो नम्बरमा समेटिएका छन् । एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार एमाले बन्द सूची लिएर दिउँसो ३ बजे आयोग पुग्नेछ ।

बिघटित प्रतिनिधिसभाको तेस्रो दल नेकपा (माओवादी केन्द्र) पनि समानुपातिक सूची निर्माणको अन्तिम चरणमा पुगेको छ । कार्यालय सचिव गणेशमान पुनका अनुसार सोमबार अपराह्नपछिको समय आयोगसँग माग गरिएको छ ।

चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि आयोगसँग समय मिलाउने तयारीमा रहेको छ । पार्टीका नेता लिमा अधिकारीका अनुसार मध्यान्ह १२ बजेसम्म आयोग पुग्ने तयारी रहेको छ ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूलाई समानुपातिक उम्मेदवारको सूची आजसम्म बुझाउन समय दिएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट ११० सदस्य निर्वाचित हुने व्यवस्था छ ।

Share News