काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउन ठूला राजनीतिक दलहरू नपुगेका कारण निर्वाचन आयोगका कर्मचारीहरू बेरोजगारीजस्तै भएको अवस्था छ । आयोगका अनुसार फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि बन्द सूची बुझाउने अन्तिम दिन हो ।
हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले आयोगमा आफ्नो समानुपातिक पूर्ण बन्द सूची बुझाइसकेका छन् । आयोगले सोमबार दिनभरि बन्द सूची दर्ता प्रक्रिया जारी रहने जनाएको छ ।
अन्य राजनीतिक दलहरूले पनि तोकिएको समयभित्र आफ्नो बन्द सूची बुझाउने तयारी गरिरहेको जानकारी दिए पनि अहिलेसम्म ठूला दलहरू आयोगमा पुगेका छैनन् ।
आयोगका सह–प्रवक्ता प्रकाश न्यौपानेका अनुसार अहिलेसम्म चार दलले मात्र सूची बुझाएका छन् । समाचार तयार पार्दासम्म ठूला दलहरू नपुगेका कारण कर्मचारीहरू वेलुका अवेरसम्म काम गर्नुपर्ने मनस्थितिमा पुगेका छन् । एक कर्मचारीले भने, 'दलहरू अन्तिम समयमा आउलान् । सबै प्रक्रिया पुरा गर्न आजको रात कार्यालयमै बित्ने देखियो ।'