नेपालमै पहिलो अभ्यास : रास्वपाको प्रि–इलेक्सनबाट समानुपातिक उम्मेदवार तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारको टुंगो आन्तरिक निर्वाचनमार्फत लगाएको छ । उम्मेदवार छनोटको यो विधि नेपालका राजनीतिक दलहरूका लागि सर्वथा नयाँ अभ्यास हो । रास्वपाले यस प्रक्रियालाई ‘प्रि–इलेक्सन’ नाम दिएको छ ।

पार्टीभित्र सम्पन्न प्रि–इलेक्सनको नतिजा भर्खरै सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुसार खुलातर्फ रमेश प्रसाईं १८ हजार २२३ मतसहित पहिलो स्थानमा छनोट भएका छन् । यस्तै, आदिवासी जनजातितर्फ उत्तमबहादुर गुरुङ १६ हजार १२ मतसहित प्रथम स्थानमा चयन भएका छन् ।

दलिततर्फ विजय जैरु १३ हजार १४३ मत प्राप्त गर्दै पहिलो नम्बरमा उम्मेदवार छनोट भएका छन् । मधेसीतर्फ १५ हजार ७४५ मत प्राप्त गर्दै पुनमकुमारी अग्रवाल पहिलो स्थानमा चयन भएकी छन् ।

मत परिणामअनुसार थारुतर्फ १७ हजार ४२५ मत प्राप्त गर्दै प्रेमलाल चौधरी पहिलो नम्बरमा समानुपातिक सूचीमा परेका छन् । मुस्लिमतर्फ १५ हजार ९६७ मत प्राप्त गर्दै समिना मियाँ पहिलो स्थानमा चयन भएकी छन् ।

खुलातर्फ प्रमोद न्यौपाने १४ हजार १६७ मतसहित दोस्रो र रञ्जु दर्शना १३ हजार ५५१ मतसहित तेस्रो स्थान हासिल गर्दै बन्द सूचीमा पर्न सफल भएका छन् ।

खुलातर्फकै अन्य नतिजामा टीका सँग्रौला चौथो, लिमा अधिकारी पाँचौँ, समीक्षा बास्कोटा छैटौँ, विपिनकुमार आचार्य सातौँ, क्रान्ति शिखा धिताल आठौँ र प्रतिभा रावल नवौँ स्थानमा निर्वाचित भएका छन् ।

आदिवासी जनजातितर्फ गायिका सत्यकला राई दोस्रो, टासी लाजोम तेस्रो र मिलन लिम्बु चौथो स्थानमा छनोट भएका छन् ।

दलिततर्फ अमृता विक दोस्रो, सबिना विश्वकर्मा तेस्रो, स्मृति सेन्चुरी चौथो र अविता नेपाली पाँचौँ स्थानमा परेका छन् । यसै समूहबाट सीता विश्वकर्मा, डा. रूपक विश्वकर्मा, खिमा विक र चन्द्रकला विक पनि प्रतिनिधित्व गर्दै समानुपातिक बन्द सूचीमा पर्न सफल भएका छन् ।

मुस्लिम समूहबाट अख्तर हुसैन र मोहम्मद हसरत अली तेस्रो नम्बरमा छनोट भएका छन् ।

Share News