पेट्रोलियम पदार्थ आयातबाट मात्रै ३ अर्ब ८० करोड राजस्व सङ्कलन

काठमाडौं । झापाको मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को ५ महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको ५ महिनामा ५ किसिमका ७ अर्ब ८४ करोड ४० लाख रुपैयाँ बराबरका ११ हजार २८ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व सङ्कलनको ५५.८० प्रतिशत हिस्सा ओगटेको छ ।

त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार तयारी कपडाबाट ४.१४ प्रतिशत, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट ३.६८ प्रतिशत, तरकारीबाट ३.४० प्रतिशत र सिमेन्ट क्लिङ्करबाट ३.३० प्रतिशत राजस्व सङ्कलन भएको छ ।

Share News