काठमाडौं । बिहानको चिसो सिरेटोसँगै बाक्लो हुस्सुले दाउन्ने क्षेत्र ढाकेको छ । पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्डमा एउटा विशाल ट्रकको इन्जिन घ्यार्र-घ्यार्र गरिरहेको छ । तर त्यसका पाङ्ग्राहरू तुषारोले चिप्लो बनेको सडकमा व्यर्थै घुमिरहेका छन् । त्यसको पछाडि गाडीहरूको लामो ताँती छ । बसभित्रका यात्रुहरू झ्यालबाट बाहिर चिहाउँदै कहिले बाटो खुल्ला भनेर प्रतीक्षा गरिरहेका छन् भने ट्रक चालकहरू चिसोमा हात रगड्दै एक-अर्कासँग गुनासो पोखिरहेका छन् ।
यो केही दिनदेखि तराईलाई आक्रान्त पारेको शीतलहरको परिणाम हो । जसले देशको सबैभन्दा व्यस्त र निर्माणाधीन राजमार्गको गतिलाई ठप्प पारेको छ ।
केही दिनदेखि चलेको शीतलहर र तुषारोले सडक चिप्लो हुँदा विशेषगरी ठूला तथा हेभी लोड बोकेका सवारीसाधन सञ्चालनमा समस्या आएको नारायणगढ-बुटवल सडक योजना पश्चिम खण्डका आयोजना प्रमुख पशुपति ज्ञवाली बताउँछन् ।
‘पानी परेको छैन, तर सडक पानीले भिजेजस्तै चिप्लो छ,’ उनले भने, ‘रातभरि परेको तुषारो र निर्माणाधीन सडकको धुलो-माटो मिलेर एउटा खतरनाक लेदो बनेको छ । जसले विशेषगरी उकालो बाटोमा गाडीहरूलाई अघि बढ्न दिएको छैन ।’
उनका अनुसार सडक चिप्लो भएपछि उकालोमा गाडी चढ्न नसकी चिप्लिएर दुर्घटना हुने र बाटोमै बिग्रिने समस्या बढेको छ । क्षमताभन्दा बढी भार बोकेका ट्रकहरू उकालोमा फसेका छन् भने कतिपय चालकले गाडी बाटोमै छोडेर हिँड्दा ट्राफिक व्यवस्थापनमा थप चुनौती बढेको उनको भनाइ छ । राति एउटा गाडी चिप्लिएर अगाडिको अर्को गाडीमा ठोक्किएको समेत उनले जानकारी दिए ।
ज्ञवालीले भने, ‘समस्याको मुख्य कारक बनेका छन्- क्षमताभन्दा बढी भार बोकेका हेभी ट्रकहरू । उकालोमा तान्न नसकेपछि गाडीहरू चिप्लिने, बाटोको बीचमै रोकिने र कतिपय अवस्थामा त एक-आपसमा ठोक्किने समेत गरेका छन् । हिजो राति एउटा गाडी चिप्लिएर अगाडिको अर्को गाडीमा ठोक्कियो । केही चालकहरू त गाडी बाटोमै छोडेर सम्पर्कविहीन हुँदा जाम हटाउन झनै मुस्किल परेको छ ।’
यो जामले सयौं यात्रुको यात्रा अनिश्चित बनाएको छ । अत्यावश्यक कामका लागि हिँडेकाहरू, बिरामी बोकेका एम्बुलेन्स र लामो दूरीका बसहरू सबै अलपत्र परेका ज्ञवालीले बताए । उनका अनुसार सडक खुलाउने प्रयास जारी छ ।
एकातिर ट्राफिक प्रहरीहरू साना गाडी र बसहरूलाई पालैपालो गरेर जोखिमपूर्ण तरिकाले पास गराउन खटिएका छन् भने अर्कोतिर आयोजनाका विशाल ग्रेडरहरू चिप्लो माटो पन्छाउन र फसेका गाडीहरूलाई ठेल्न व्यस्त छन् । अवस्था सामान्य हुन अझै ३/४ घण्टा लाग्न सक्ने ज्ञवालीले जानकारी दिए ।
अहिले सडकमा फसेका र बिग्रिएका गाडी हटाउन आयोजनाले मेसिन (ग्रेडर) र ट्राफिक प्रहरी परिचालन गरेको छ । सडकमा जमेको हिलो र चिप्लो हटाउन ट्याङ्करबाट पानी हालेर सफा गर्ने काम पनि भइरहेको छ ।
‘साना गाडी र मिनी बसहरूलाई हामीले निरन्तर आलोपालो गरेर पठाइरहेका छौं । तर ठूला र हेभी गाडीलाई अहिले पूर्ण रूपमा रोकिएको छ,’ ती उनले भने ।
अवस्थालाई नियन्त्रणमा लिन ट्याङ्करबाट पानीको फोहोराले सडकमा जमेको चिप्लो हिलो र तुषारो पखाल्ने काम भइरहेको उनको भनाइ छ । मौसममा सुधार नआएसम्म ठूला र हेभी गाडीहरूलाई पूर्ण रूपमा रोक लगाइएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार राजमार्गमा सामान ढुवानीको चक्र नै प्रभावित बनेको छ ।
यो सडकखण्ड अहिले स्तरोन्नतिको चरणमा छ । ७८ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । आगामी असारसम्ममा निर्माण पूरा गर्ने लक्ष्य राखिएको यो आयोजना देशकै गेम चेन्जर परियोजनामध्ये एक हो । हाल बाँकी कामहरू कल्भर्ट निर्माण, फुटपाथ पेन्टिङ र विशेषगरी डाउन एरियाको ढलान कार्य जारी रहेको छ ।
‘ठूला गाडीका चालकहरू कहिले आफ्नो पालो आउला भनेर आकाशतिर हेर्दै बसिरहेका छन् । यो समस्याले नारायणगढ–बुटवल सडकखण्डले विकासको गति मात्र होइन, प्रकृतिको अप्रत्याशित चुनौतीलाई पनि सँगसँगै सामना गरिरहेको छ,’ ज्ञवालीले भने ।
राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, पोखरालगायतका स्थानबाट पश्चिमतर्फ जाँदै गरेका र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका लामो तथा छोटो दूरीका सवारी साधनहरू बाटोमै रोकिएका छन् ।
