रास्वपा प्रि-इलेक्सन : १३ हजार १५३ मत ल्याएर जित्ने जैरु सिफारिसमा परेनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फका उम्मेदवार आन्तरिक प्रतिस्पर्धा अर्थात प्रि–इलेक्सनमार्फत छनोट गरेको दाबी गरिरहेको बेला उसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीले भने नयाँ विवाद जन्माएको छ । 

पार्टीकै प्रि–इलेक्सनमा सर्वाधिक मत ल्याएर पहिलो स्थान हासिल गरेका विजय जैरु बन्दसूचीमा समेटिन नसकेपछि रास्वपाको आन्तरिक लोकतन्त्र र निर्णय प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ ।

रास्वपाले यसपटक समानुपातिक उम्मेदवार छनोटका लागि पार्टीभित्रै मतदातामार्फत प्रतिस्पर्धा गराउने अभ्यास गरेको थियो । यसलाई नेपाली राजनीतिमा नौलो र सुधारमुखी प्रयोगका रूपमा हेरिएको थियो । 

पार्टी नेतृत्वले पनि प्रि–इलेक्सनको नतिजाका आधारमा उम्मेदवार छनोट गरिने भन्दै पारदर्शिता र आन्तरिक लोकतन्त्रको उदाहरण प्रस्तुत गर्ने दाबी गरेको थियो । तर, निर्वाचन आयोगमा बुझाइएको अन्तिम बन्दसूचीमा जैरुको नाम नरहँदा ती दाबीहरू व्यवहारमा पूर्ण रूपमा लागू नभएको देखिएको छ ।

प्रि–इलेक्सनको सार्वजनिक नतिजाअनुसार विजय जैरुले दलित क्लष्टरमा सबैभन्दा धेरै १३ हजार १५३ मत प्राप्त गरेका थिए । पार्टी समर्थक र कार्यकर्तामाझ उनी समानुपातिक सूचीको अग्रस्थानमा पर्ने लगभग निश्चितजस्तै मानिएको थियो । तर अन्तिम सूचीमा भने उनको नाम हटाइएको छ । उनको साटो गायक तथा कलाकार प्रकाश सपुतको नाम बन्दसूचीमा समावेश गरिएको देखिन्छ । सपुत प्रि–इलेक्सनमा सहभागी नभएपनि उनको नाम सर्वाधिक मत ल्याउने जैरुको नाम हटाएर बन्दसूचीमा कायम गरिएको छ ।

जैरुको हकमा प्रि–इलेक्सनको मत परिणाम लागू नहुनु तर अन्य उम्मेदवारको हकमा सोही नतिजालाई आधार मानिनुले पार्टीभित्रै दोहोरो मापदण्ड अपनाइएको आरोप लाग्न थालेको छ । तर महामन्त्री कविन्द्र बुर्लाकोटी भने शक्तिहरूको व्यवस्थापन गर्दा जैरुको नाम छुटेको बताउँछन् । 

रास्वपाले प्रि–इलेक्सनलाई केवल सिफारिसका रूपमा लिएको हो कि बाध्यकारी मापदण्डका रूपमा भन्ने प्रश्न पनि यससँगै उठेको छ । बुर्लाकोटी भने आन्तरिक सहमतिमा जैरुको नाम हटाइएको दाबी गर्छन् । 

उनी भन्छन्, ‘जैरुलाई प्रदेशसभामा व्यवस्थापन गर्ने सहमति भएपछि सपुतलाई उनको स्थानमा ल्याइएको हो ।’ 

प्रि–इलेक्सनको नतिजा बाध्यकारी थिएन भने त्यसलाई प्रचारमुखी कार्यक्रम मात्र बनाइएको आलोचना भइरहेको छ नि भन्ने विकासन्युजको प्रश्नमा बुर्लाकोटी भन्छन्, ‘राजनीतिमा आन्तरिक सहमति हुन्छ । सोही आधारमा जैरुको नाम हटेको हो ।’

पार्टीभित्रका केही नेताहरूले भने समानुपातिक सूची तयार गर्दा क्षेत्रीय सन्तुलन, समावेशिता, पेशागत विविधता र सार्वजनिक छवि जस्ता अन्य मापदण्ड पनि हेर्नुपर्ने तर्क अघि सारेका छन् ।

उनीहरूका अनुसार प्रि–इलेक्सन एउटा महत्त्वपूर्ण आधार भए पनि अन्तिम निर्णय गर्दा पार्टीको रणनीति र निर्वाचनमा प्रभाव पार्ने क्षमतालाई पनि ध्यान दिनु स्वाभाविक हो । यही आधारमा लोकप्रिय कलाकार प्रकाश सपुतलाई सूचीमा समेटिएको हुनसक्ने उनीहरूको अनुमान छ ।

तर आलोचकहरू भने यसले पार्टीको घोषित मूल्य र अभ्यासबीच दूरी देखाएको बताउँछन् । सर्वाधिक मत ल्याउने उम्मेदवारलाई हटाएर कम मत ल्याउने वा प्रतिस्पर्धामै नआएका व्यक्तिलाई सूचीमा राख्नु आन्तरिक लोकतन्त्रको उपहास हो । सामाजिक सञ्जालमा समेत यस विषयलाई लिएर रास्वपामाथि चर्को आलोचना सुरु भइरहेको छ । 

स्रोतका अनुसार बन्दसूची तयार गर्दा पावर, पहुँच र पार्टीको समग्र चुनावी रणनीतिलाई ध्यानमा राखिएको बताइन्छ । यद्यपि विजय जैरुको हकमा प्रि–इलेक्सनको नतिजा किन लागू भएन भन्ने प्रश्न अझै अनुत्तरित नै छ ।

रास्वपाले आफूलाई पुराना दलभन्दा फरक, पारदर्शी र नियममा आधारित पार्टीका रूपमा प्रस्तुत गर्दै आएको छ । यही कारण प्रि–इलेक्सनको प्रयोगलाई उसले ठूलो उपलब्धिका रूपमा देखाएको थियो । तर सर्वाधिक मत ल्याउने उमेदवार बन्दसूचीबाट बाहिरिनुले पार्टीको त्यो छविमा आँच पुग्ने संकेत देखिएको छ । 

Share News