सामसङ इनोभेसन क्याम्पस नेपालको ‘एआई र बिग डेटा’ तालिम सम्पन्न

काठमाडौं । सामसङ इनोभेसन क्याम्पस नेपालले नेपाली विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको ‘एआई तथा बिग डेटा’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ । गत जुन २७ देखि ६ महिनासम्म सञ्चालन भएको उक्त तालिमको समापनसँगै कम्पनीले सोमबार नयाँ ‘कोडिङ तथा प्रोग्रामिङ’ ब्याच सुरु गरेको जानकारी दिएको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजित कार्यक्रममा तालिममा सहभागी ६० विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरियो । तालिममार्फत विद्यार्थीहरूलाई व्यवहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान र अत्याधुनिक प्रविधिमा प्रत्यक्ष अनुभव प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले भने, 'युवाहरूलाई भविष्यमुखी सीपले सुसज्जित गर्नु देशको दीर्घकालीन प्रगतिमा गरिएको लगानी हो । सामसङ इनोभेसन क्याम्पसमार्फत हामी नेपालको बढ्दो डिजिटल अर्थतन्त्रमा नेतृत्व गर्न युवाहरूलाई सशक्त बनाउन प्रतिबद्ध छौँ ।'

प्रमाणपत्र वितरण समारोहमा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसी, इन्स्टिच्युट अफ इन्जिनियरिङका डिन डा. सुशील बी. बज्राचार्य, पुल्चोक क्याम्पसका प्रमुख डा. सञ्जय उप्रेती लगायत उपस्थित थिए ।

सामसङले सन् २०२२ देखि आफ्नो विश्वव्यापी दृष्टिकोण अन्तर्गत युवालाई भविष्य सुहाउँदो सीप प्रदान गर्दै आएको छ । यसअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानसँग सहकार्य गरी नेपालमा विभिन्न पाठ्यक्रममा आधारित तालिम आयोजना गरिएको छ । तालिमका क्रममा विद्यार्थीहरूले एआई, बिग डेटा, इन्टरनेट अफ थिङ्स, कोडिङजस्ता प्रविधि प्रयोग गरी वास्तविक जीवनका चुनौती समाधान गर्ने परियोजनामा काम गरेका थिए ।

नयाँ सुरु भएको कोडिङ तथा प्रोग्रामिङ पाठ्यक्रममा सहभागी हुनका लागि एल्गोरिदम, डेटा स्ट्रक्चर र प्रोग्रामिङको आधारभूत ज्ञान आवश्यक पर्ने बताइएको छ । पाठ्यक्रम व्यवहारिक सीपमा केन्द्रित रहेको र विद्यार्थीलाई सिकेका सीप प्रयोग गरी समस्या समाधान गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ ।

सामसङ इनोभेसन क्याम्पस नेपालका कार्यक्रममा सहभागी हुन पुल्चोक इन्जिनियरिङ क्याम्पसमा, कम्प्युटर विज्ञान लगायतका विद्यार्थीहरूले आवेदन दिन सक्छन् । त्यसपछि क्याम्पसले विद्यार्थी छनोट गर्छ । छनोट हुने विद्यार्थीलाई सामसङले तयार पारेको पाठ्यक्रममा आधारित तालिम प्रदान गर्ने छ । ६ महिनामा कुल ३५० घण्टाको कोर्स विद्यार्थीहरूले लिने गर्छन् ।

Share News