सूर्य नेपाल सेन्ट्रल ओपन : दोस्रो दिन एमेच्योर राहुल शीर्षस्थानमा कायमै

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा शीर्षस्थानमा कायमै रहन सफल भएका छन् ।‌

गोकर्ण गल्फ क्लबमा राहुलले ५-अन्डर ६७ को स्कोर बनाए । समग्रमा ११-अन्डर १ सय ३३ को स्कोरमा राहुलले प्रोफेसनल खेलाडी भुवन कुमार रोक्कालाई ७ स्ट्रोकले पछि पारे । भुवन समग्रमा ४-अन्डर १ सय ४० को नतिजामा दोस्रो स्थानमा उक्लिए । उनले आज ५-अन्डर ६७ स्कोर गरे । मंगलबार इभन-पार ७२ खेलेका जयराम श्रेष्ठ समग्रमा १-अन्डर १ सय ४३ को स्कोरमा तेस्रो स्थानमा तल झरे ।

समग्रमा १-ओभर १ सय ४५ को स्कोर बनाएका भुवन नगरकोटी चौथो स्थानमा उक्लिए । उनले दोस्रो दिनको खेल इभन-पार ७२ मा सकाए । समग्रमा २-ओभर १ सय ४६ को स्कोर बनाएका नेपाल नम्बर १ प्रो निरज तामाङ (६९), शुक्र बहादुर राई (७१) , दिनेश प्रजापति (७३) तथा एमेच्योर रुबेन थापा (७०) ले संयुक्त रूपमा पाँचौं स्थान बाँडे ।

यस्तै ४-ओभर १ सय ४८ स्कोरमा रबि खड्का (७१) , प्रदीप कुमार लामा (७५) तथा एमेच्योर फुन्सो नोर्बु लामा (७५) संयुक्तरुपमा आठौं स्थानमा रहे ।

उपाधि रक्षा गर्ने दाउमा रहेका राहुलले फ्रन्ट नाइनमा ३-अन्डर ३३ खेले । उनले दोस्रो, तेस्रो, पाँचौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे भने चौथो र छैटौं होलमा बोगी खेपे । यसपछि १०औं, ११औं, १३औं र १४औं होलमा पनि एक-एक सट बचाए । तर १५औं र १६औं होलमा लगातार दुई बोगी प्रहार गर्न पुगे। यो सँगै उनले ब्याक नाइन २-अन्डर ३४ मा सकाए ।

भुवन रोक्काले आज ५-अन्डरको स्कोर दर्ज गर्ने क्रममा फ्रन्ट नाइन २-अन्डर ३४ खेले । पहिलो, तेस्रो, पाँचौं र आठौं होलमा चार बर्डी प्रहार गरे। छैटौं र सातौं होलमा एक-एक सट खेर फाले । यसपछि बोगी रहित ब्याक नाइन खेल्ने क्रममा १२औं, १६औं र १८औं होलमा बर्डी प्रहार गरे  उनले ब्याक नाइन ३-अन्डर ३३ मा सकाए ।

जयरामले फ्रन्ट नाइन १-अन्डर ३५ र ब्याक नाइन १-ओभर ३७ मा पुरा गरे। तेस्रो देखि पाँचौं होलमा लगातार तीन बर्डी प्रहार गरे । तर आठौं होलमा डबल बोगी खेपे । यसपछि १०औं, १७औं र १८औं होलमा बर्डी प्रहार गरे पनि ११औं र १६औ होलमा बोगी र फेरि १५औं होलमा डबल बोगीको समाना गरे ।

११-ओभर १ सय ५५ स्कोर गरेका १८ प्रोफेसनल र ६ एमेच्योर गरी २४ खेलाडीले कट बनाएका छन् । प्रोतर्फ सूर्य प्रसाद शर्मा, तोरण विक्रम शाही, दीपक मगर, किसन कालीराज सुनार, धन बहादुर थापा, टंक बहादुर कार्की, कुमार कामी, रमेश अधिकारी र रामे मगरले कट बनाए । एमेच्योरतर्फ साम डोबलार्ड, टासी छिरिङ र बलराम पौडेलले पनि कट बनाए ।

११-ओभर १ सय ५५ स्कोर बनाए पनि काउन्ट ब्याकमा एमेच्योर वाङ्चेन ढोनमडुपसँगै भीमसेन चौलागाई, सञ्जय लामा र सबिन सापकोटाले कट बनाउन सकेनन् ।

यस प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख २५ हजार रुपैयाँ, तेस्रो हुनेले १ लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । कट बनाउने शीर्ष १८ खेलाडीले नगद हात पार्नेछन् ।

Share News