काठमाडौं । सवारी नियम उल्लंघन गरी कारबाहीमा परेका चालकहरूका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सचेतना कक्षाको संख्या थप गरेको छ ।
सेवाग्राहीको चाप र सहजतालाई मध्यनजर गर्दै यसअघि दैनिक ५ वटा सञ्चालन हुँदै आएको कक्षालाई बढाएर ७ वटा पुर्याइएको हो ।
अबदेखि काठमाडौंको रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालयमा सार्वजनिक बिदा बाहेकका दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सातवटा सत्रमा कक्षाहरू सञ्चालन हुनेछन् ।
शुक्रबारको हकमा भने अपरान्ह ३ बजेसम्म मात्र कक्षा सञ्चालन हुने कार्यालयले जनाएको छ । कार्यालय समयमा उपस्थित हुन नसक्ने कर्मचारी वा अन्य व्यस्त चालकहरूको सहजताका लागि ट्राफिक प्रहरीले विशेष व्यवस्था गरेको छ । अब प्रत्येक शनिबार (सार्वजनिक बिदा बाहेक) बिहान १० बजेदेखि १२ बजेसम्म दुई वटा कक्षा संचालन हुनेछन् । चालकहरूले आफ्नो अनुकूल समय मिलाएर यी कक्षाहरूमा सहभागी हुन सक्नेछन् ।
मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने, तीव्र गतिमा सवारी गुडाउने, रातो बत्तीको उल्लंघन गर्ने तथा सडक लेन अनुशासन पालना नगर्ने चालकहरूका लागि यो सचेतना कक्षा अनिवार्य गरिएको हो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालयहरूमा आगजनी भएपछि झण्डै डेढ महिना यो सेवा अवरुद्ध भएको थियो । कात्तिक ११ गतेदेखि पुनः सुरु भएको यो सेवा हाल रामशाहपथमा मात्र उपलब्ध छ ।
ललितपुर र भक्तपुरमा भने आन्दोलनका कारण क्षतिग्रस्त भएका पूर्वाधारहरू निर्माणको चरणमा रहेकाले केही समयपछि मात्र कक्षा सुरु हुने ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीको यो कदमले जरिवाना तिरेर पनि समय अभावका कारण कक्षा लिन नपाएका चालकहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।
