काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा ‘एसिया–प्रशान्त इन्टरनेट सुशासन एकेडेमी (एपिगा) नेपाल–२०२५’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
पुस १२ र १३ गते काठमाडौंमा आयोजित दुईदिने क्षमता विकास कार्यशालामार्फत इन्टरनेट सुशासन, आईक्यान नीति तथा बहु–साझेदारी मोडेलका विषयमा स्नातक, स्नातकोत्तर विद्यार्थी तथा युवा पेशेवरहरूलाई लक्षित गरी व्यावहारिक र नीतिगत ज्ञान प्रदान गरिएको हो ।
आईक्यान (इन्टरनेट कर्पोरेसन फर एसाइन्ड नेम्स एन्ड नम्बर) र कोरिया इन्टरनेट तथा सुरक्षा एजेन्सीको सहकार्यमा विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको एपिगा कार्यक्रमको स्थानीय संस्करणका रूपमा नेपालमा यो कार्यक्रम दोस्रो पटक आयोजना गरिएको हो । कार्यशालाका क्रममा सेमिनार, गोलमेच छलफल, अभ्यासात्मक सिमुलेसन खेल तथा ‘मक आईक्यान सम्मेलन’ जस्ता अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी, उपाध्यक्ष तथा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसप्यान) का प्रमुख कार्यकारी अधिकृत सुभाष खड्का, महासचिव चन्द्रविलास भुर्तेल, कोषाध्यक्ष विक्रम सिंह तथा आईक्यानका प्रतिनिधि यश अग्रवालको सहभागिता रहेको थियो । सो अवसरमा यश अग्रवालले आईक्यानको भूमिका, संगठनात्मक संरचना र नीतिनिर्माण प्रक्रियाबारे विस्तृत प्रस्तुति दिएका थिए ।
एपिगा नेपाल–२०२५ कार्यक्रम टिम लिड विवेक सिलवाल र कार्यक्रम संयोजक उदिप बरालको नेतृत्वमा सञ्चालन गरिएको थियो । कार्यक्रममा सहभागीहरूले डोमेन नेम प्रणाली (डीएनएस) सञ्चालन, आईक्यान तथा इन्टरनेट सुशासन मञ्च (आईजीएफ) प्रक्रिया, क्षेत्रीय एसिया–प्रशान्त इन्टरनेट सुशासन मञ्च (एप्रिगिफ), नीतिगत बहस अभ्यास, नेतृत्व विकास, फेलोसिप तथा अन्तर्राष्ट्रिय अवसरका विषयमा व्यावहारिक ज्ञान आर्जन गरेका छन् ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघीय इन्टरनेट सुशासन मञ्च सचिवालयकी अन्जा गेन्गो, एप्रिगिफ तथा एप्रालो अध्यक्ष अमृता चौधरी, सफ्टवेरिका कलेज अफ सूचना प्रविधिका क्याम्पस प्रमुख प्रमोद पौडेल तथा एपनिक नीति विशेष समूहका अध्यक्ष विक्रम श्रेष्ठलगायत वक्ताहरूले प्रस्तुति दिएका थिए ।
एपिगा नेपाल–२०२५ कार्यक्रमले इन्टरनेट नीतिनिर्माण प्रक्रियामा युवाको सार्थक सहभागिता अभिवृद्धि गर्दै खुला, समावेशी र दिगो इन्टरनेट निर्माणमा योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।