काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको खस्केको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य-सामूहिक पहल’ विषयक कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले पनि ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्र थप मनोबलका साथ उठ्न आवश्यक रहेको बताए ।
उनले अहिले आर्थिक सूचक सकारात्मक दिशामा रहे पनि लगानी बढ्न नसकेको स्वीकार गरे । ‘चालु खाता बचतमा छ । शोधनान्तर बचतमा छ । बैंक वित्तीय संस्थामा पर्याप्त तरलता छ । ब्याजदर र मुद्रास्फीति घटेको छ । तर पनि कर्जा लगानी बढ्न सकेन,’ खनालले भने ।
निजी क्षेत्रको सम्पत्ति राज्यको पनि सम्पत्ति रहेको उल्लेख गर्दै उनले यसको सुरक्षा सबैको दायित्व रहेको प्रष्ट पारे ।
‘निजी क्षेत्र अर्थतन्त्रको इन्जिन हो । यसलाई आफ्नो ढङ्गले काम गर्न दिनुपर्छ । निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति राज्यको पनि सम्पत्ति हो,’ उनले भने, ‘मुलुकभित्र जुनसुकै क्षेत्रबाट लगानी हुनु भनेको राज्यका लागि भएको लगानी हो । त्यसमा क्षति हुनु भनेको मुलुककै सम्पत्ति माथिको क्षति हो भनेर राजनीतिक दलका कार्यकर्ताले पनि बुझ्न जरुरी छ ।’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले आर्थिक समृद्धिका लागि शान्ति र स्थायित्व पूर्वशर्त हुने बताए ।
‘समृद्धि हासिल गर्न शान्ति चाहियो । त्यसका लागि स्थिर र बलियो सरकार चाहिन्छ । चुनाव पछि एउटै दलले स्थिर सरकार बनाउन सकेन भने पनि अरु दल मिलेर स्थायित्वसहितको वातावरण आवश्यक छ,’ उनले भने ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले राज्य र सरकार अन्तर्गतका निकायलाई स्वतन्त्र एवं व्यावसायिक रूपमा अघि बढाएको स्पष्ट पार्दै निजीक्षेत्रमा कुनै हस्तक्षेप नगरेको बताए । मन्त्री खरेलले निजी क्षेत्रलाई सुरक्षित राख्नु अपरिहार्य रहेको उल्लेख गरे ।
निजीक्षेत्रको सुरक्षा सबैको प्राथमिकता नबनेसम्म मुलुक अघि बढ्न नसक्ने उनले धारणा व्यक्त गरे ।
‘समाजवाद उन्मुख राज्य व्यवस्था अघि बढाउन निजी क्षेत्रलाई नजरअन्दाज गर्न सकिँदैन । उद्योग, व्यापार र व्यवसायका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ,’ मन्त्री खरेलले भने ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुनिश्चित भइसकेको भन्दै निर्वाचन हुनेमा कुनै आशङ्का नरहेको स्पष्ट पारे । सरकारले दृढताका साथ निर्वाचन प्रक्रिया अघि बढाइरहेको उनको भनाइ छ ।