काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बिजनेस क्लासको टिकट लिएर नेपाल आउने विदेशी यात्रुलाई अध्यागमनमा पनि सोहीअनुसारको सेवा–सुविधा उपलब्ध गराउनुपर्ने बताएका छन् ।
विदेशी यात्रुले तिरेको प्रिमियमअनुसारको सेवा अध्यागमनमा नपाएको गुनासो बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष ढकालले यसले अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जाने र पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष असर पार्ने चेतावनी दिए ।
बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले भने, 'कसैले बिजनेस क्लासको टिकट किनेको छ र त्यसका लागि प्रिमियम तिरेको छ भने अध्यागमनमा पनि उसले सोहीअनुसारको सेवा खोज्छ । तर अहिलेको व्यवस्थाले विदेशी यात्रुले तिरेको प्रिमियमको सम्मान भएको देखिँदैन ।'
ढकालका अनुसार कतिपय निर्णयहरू सरसर्ती हेर्दा नेपाली यात्रुका लागि ठिक देखिए पनि विदेशी यात्रुको अपेक्षा र सेवास्तरबीच ठूलो अन्तर देखिएको छ । 'प्रिमियम तिरेका यात्रुलाई सोहीअनुसारको सुविधा नदिँदा बाहिर नकारात्मक सन्देश जान्छ, जसले नेपालको पर्यटन छविमा असर पुर्याइरहेको छ,' उनले भने ।
उनले अध्यागमन सेवामा समयानुकूल सुधार गर्दै सेवा स्तर अन्तर्राष्ट्रिय अभ्यासअनुसार बनाउन सरकारसँग आग्रह गरे । यस्तो सुधारले नेपाल आउने उच्च खर्च गर्ने पर्यटकलाई आकर्षित गर्न र पर्यटन क्षेत्रको समग्र विकासमा टेवा पुग्ने उनको भनाइ थियो ।