अनसनरत भुसालसँग वार्ता गर्न समित गठन

काठमाडौं । सरकारले अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न चार सदस्यीय वार्ता समिति गठन गरेको छ । विभिन्न माग राखी केही दिनयता अनसन बसेका भुसालसँग छलफल गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको हो । 

समितिमा पौडेल सहित प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाल सदस्य रहेका छन्। 

केही दिनदेखि अनसनमा रहेका डा. भुसालको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई नेपाल चिकित्सक संघको पहलमा बुधबार वीर अस्पतालमा भर्ना गरिएको छ।

भुसाल समूहले गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा हुनुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, प्रदेशसभा खारेज गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी चयन गर्नु पर्ने र  जेनजी आन्दोलनका दोषीलाई सजाय दिनुपर्ने लगायतका पाँचबुँदे माग राखेका छन् । 

उनले माग पुरा नभएसम्म अनसन जारी राख्ने बताएका छन् । यता नेपाल चिकित्सक संघले भने डा. भुसालको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले माग पुरा गरी अनसन स्थगित गर्न सरकारलाई आग्रह गरेको छ ।

Share News