कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केहीबेरमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केहीबेरमा सुरु हुने भएको छ । पार्टीका नेताहरू केन्द्रीय कार्यालय आउनेक्रम जारी रहेको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र अर्का महामन्त्री गगन थापाले प्रेस विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको पाटो बन्द भएको बताएपछि केन्द्रीय कार्य सम्पादन समितिको आकस्मिक बैठक बस्न थालेको हो । 

समितिको बैठक बस्नु पहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । 

महामन्त्रीहरूले विशेष महाधिवेशनका लागी हलसमेत बुकिङ गर्ने प्रक्रिया सुरु गरेपछि पार्टीमा हलचल सुरु भएको थियो । सोही हलचलको पराकम्पको रुपमा अहिले कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।

बैठकले नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भनेर निर्णय लिने छ । यसबाहेक महामन्त्री शर्माले नीति महाधिवेशनको समेत प्रस्ताव गरेका छन् । 

विशेष महाधिवेशन पनि गर्न नसकिने र नियमित महाधिवेशन समेत नहुने अवस्थामा नीति महाधिवेशनमा जान सकिने शर्माले बताएका छन् । उनले केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा यस विषयमा प्रष्ट पार्ने उनी निकटका नेता प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।

Share News