काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा वैशाख अन्तिम साता पार्टीको नियमित महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ । पार्टीभित्र महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किएको सन्दर्भमा बैठकमा २८ देखि ३० सम्म गर्ने प्रस्ताव अघि सारिएको हो ।
बैठकमा सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिको कार्यकाल जेठसम्म थप गर्ने प्रस्ताव पनि प्रस्तुत गरिएको छ । महाधिवेशन तयारीका लागि आवश्यक समय अभाव रहेको भन्दै कार्यकाल थपको प्रस्ताव गरिएको बताइएको छ ।
यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै महाधिवेशनसम्बन्धी नियमित कार्यतालिका स्थगित गरिएको जानकारी गराएका थिए । त्यसपछि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको नयाँ समयसीमा र नेतृत्वको म्याद थपबारे औपचारिक छलफल अघि बढाएको हो ।
बैठकमा महाधिवेशन तयारी, पार्टीको आन्तरिक एकता, संगठन विस्तार तथा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल भइरहेको जनाइएको छ ।