नेपाल एसबीआई बैंकको साधारण सभाबाट ९ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ४ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको हो ।

बैंकको ३२औँ वार्षिक साधारण सभा पौष १८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको हो । सभाले आ.व. २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण पारित गरेको छ ।

साथै, बैंकको सहायक कम्पनी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको आ.व. २०८१/८२ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पनि सभाबाट स्वीकृत भएको छ ।

साधारण सभाले आ.व. २०८२/८३ का लागि बैंकको लेखापरीक्षण गर्न मेशर्स पिकेएफ टी.आर. उपाध्याय एण्ड कं., चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गर्दै पारिश्रमिक निर्धारण गरेको छ । यसका साथै बैंकको प्रबन्धपत्रका विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव पनि पारित भएको छ ।

सभाले सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति, सम्झौता तथा प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

यसै अवसरमा बैंकले ३२औँ वार्षिक साधारण सभाको अवसर पारेर सबै प्रदेशमा ३२ भन्दा बढी संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम सञ्चालन गरेको जनाएको  छ ।

सीएसआर कार्यक्रम अन्तर्गत गुणस्तरीय शिक्षामा पहुँच विस्तार, जोखिममा परेका समुदायलाई मानवीय सहायता तथा राहत, तथा विभिन्न वर्गका नागरिकलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यमा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा सञ्चालन गरिएका ती कार्यक्रमबाट ३ हजार ५ सयभन्दा बढी व्यक्ति लाभान्वित भएका छन् ।

Share News