बेलहियाबाट भित्रिए १ लाख ३ हजार पर्यटक, कोरोनाछि क्रमशः सङ्ख्या बढ्दै

काठमाडौं । स्थल मार्ग हुँदै बेलहिया नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ । एक वर्षको अवधिमा एक लाखभन्दा बढी तेस्रो मुलुकका पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका छन् ।

अध्यागमन कार्यालय बेलहिया, रुपन्देहीका अनुसार सन् २०२५ मा १ लाख ३ हजार ९५५ जना पर्यटक यो नाका हुँदै नेपाल आएका हुन् । सोही अवधिमा १ लाख २ हजार ४५५ जना बेलहिया नाका हुँदै गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

सन् २०२४ मा यो नाका हुँदै ९२ हजार ६४४ पर्यटक भित्रिएका थिए भने ९३ हजार २९० जना पर्यटक यहाँबाट गन्तव्यतर्फ प्रस्थान गरेका थिए । 

कार्यालय प्रमुख वासुराम पौडेलले २०२५ मा पर्यटकको आगमन सोचेअनरुप हुन नसके पनि विगतका वर्षभन्दा सङ्ख्या भने बढेको बताए ।

‘सन् २०२५ मा करिब एक लाख २० हजार पर्यटकको आगमन हुने आकलन गरेका थियौँ । जेनजी आन्दोलनका कारणले त्यति आगमन हुन सकेन, तर कोरोनाकालपछि क्रमशः पर्यटकको सङ्ख्या बढ्दै गएको छ,’ पौडेलले भने । 

गत वर्षभन्दा १० हजार बढीले पर्यटकको आगमनको सङ्ख्या बढेको उनले बताए । सन् २०२५ मा यस नाकाबाट सबैभन्दा बढी श्रीलङ्काका ३४ हजार ३६६ पर्यटक नेपाल आएका छन् । त्यसपछि म्यानमारका १९ हजार ९६२, थाइल्याण्डका १९ हजार १९५, भियतनामका ७ हजार ६४५, दक्षिण कोरियाका ३ हजार ८२ र संयुक्त राज्य अमेरिकाका २ हजार १४९ जना छन् ।

उक्त अवधिमा सबैभन्दा बढी मार्च महिनामा २० हजार ७२० पर्यटक नेपाल आएका छन् । यस्तै, फ्रेअुबरीमा १७ हजार ८७१, नोभेम्बरमा १६ हजार ३०५, अक्टोबरमा ११ हजार ६९७ र डिसेम्बरमा १० हजार ७२० पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ ।

यो नाका हुँदै सन् २०१८ मा १ लाख ६६ हजार २३५, सन् २०१९ मा १ लाख ६१ हजार ६९१, सन् २०२० मा ४३ हजार ३६७, सन् २०२१ मा ८१२, सन् २०२२ मा २० हजार २२० र सन् २०२३ मा ८१ हजार ८०५ पर्यटक नेपाल आएका छन् । यो नेपालमा स्थल मार्गबाट देशमै धेरै पर्यटक भित्रिने नाकाका रूपमा रहेको छ । 

Share News