नबिल बैंकलाई विकास नायक-२०८२ अवार्ड

वित्तीय सेवामार्फत आर्थिक विकासमा विशिष्ट योगदान गरेबापत सम्मानित

काठमाडौं । विकास नायक–२०८२ बाट नबिल बैंक लिमिटेड सम्मानित भएको छ । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा संस्थागत नायकका रूपमा नविल बैंक सम्मानित भएको हो ।

वित्तीय सेवामार्फत आर्थिक विकासमा विशिष्ट योगदान गरेबापत नबिल बैंकलाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको हो । आइतबार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरे ।

नेपाली बैंकिङ क्षेत्रमा पृथक पहिचान बनाउन सफल नबिल सन् १९८४ मा मुलुककै पहिलो ज्वोइन्ट भेन्चर बैंक हो । नबिलले विगत चार दशकको अवधिमा वित्तीय समावेशीकरण, नवप्रवर्तन, डिजिटल बैंकिङका साथै प्राथमिक क्षेत्रमा दीर्घकालीन लगानीमार्फत देशको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेको छ ।

कुनैबेला मुलुकमा साहु–महाजनबाट पैसा लिएर आफ्नो खर्च धान्ने नेपाली समाजलाई नबिलले बैंकिङ कारोबार सिकायो । बैंकको ढोकाभित्र छिर्न डराउने नेपालीहरुलाई सफा सोफामा बसेर बैंकिङ कारोबार गर्न नबिलले उत्प्रेरित गर्यो । आज घरमै बसेर मोवाइलबाटै वित्तीय कारोबार गर्ने अवस्थामा समाजलाई पुर्याउन नबिल बैंकले ठूलो भूमिका खेलेको छ । 

राज्यलाई उच्च राजस्व, हजारौंलाई रोजगारीसँगै उद्यम गर्न उत्प्रेरित गर्ने नबिल बैंकले सेवाग्राही र सेयरधनीलाई पनि उत्तिकै खुसी र सन्तोष प्रदान गरेको छ । सेवाग्राहीको सेवालाई मध्येनजर गर्दै नबिल बैंक पूर्ण डिजिटलाइजेसनको यात्रामा अगाडि बढिरहेको छ ।

Share News