बैंकिङ प्रणालीमा १ ट्रिलियन रुपैयाँ तरलता छः डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले हाल बैंकिङ क्षेत्रमा करिब १ ट्रिलियन रुपैयाँ हाराहारीमा तरलता उपलब्ध रहेको बताएका छन् । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणहरू जारी गरिरहेको उनले बताए ।

विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जाको माग न्यून रहेको अवस्थाप्रति चिन्ता व्यक्त गरे । उनका अनुसार सुरक्षाको प्रत्याभूति नहुनु नै कर्जाको माग नबढ्नुको प्रमुख कारण बनेको छ ।

‘आधार दरमै कर्जा उपलब्ध गराउँदा र न्यून प्रिमियम दरमा समेत कर्जा प्रस्ताव गर्दा पनि कर्जाको माग नहुनुको कारण के हो भन्ने विषय बुझ्न गाह्रो भइरहेको छ,’ उनले भने ।

डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकरमाथि कुटपिटजस्ता घटनामा नेपाल राष्ट्र बैंक गम्भीर रूपमा सक्रिय रहेको जानकारी दिए । ‘बैंकिङ क्षेत्रमाथि हुने कुनै पनि किसिमका घटनामा राष्ट्र बैंकले स्पष्ट रूपमा आवाज उठाइरहेको छ,’ उनले बताए ।

उनले जनताको निक्षेप सुरक्षालाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्दै आफ्नो नियामक भूमिका जिम्मेवारीपूर्वक निर्वाह गरिरहेको पनि स्पष्ट पारे ।

Share News