काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित शाक्यले बैंक तथा वित्तीय संस्थाको लगानीबिना कुनै पनि उद्योग-व्यवसाय अघि बढ्न नसक्ने बताएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले बैंकिङ क्षेत्रले उद्यमशीलता विकासमा खेलेको भूमिकाको चर्चा गरे ।
सीईओ शाक्यका अनुसार साना कर्जाबाट पनि ठूलो व्यवसाय सम्भव भएको उदाहरण प्रशस्त छन् । ‘२५ लाख रुपैयाँ कर्जा लिएर सुरु गरेका मेरा केही ग्राहकहरू आज अर्बौं रुपैयाँको व्यवसाय गरिरहेका छन् । धेरै उद्योगी-व्यवसायी बैंकिङ सहायताकै कारण सफल भएका छन्,’ उनले भने ।
तर पछिल्लो समय कर्जा असुलीका क्रममा बैंकका कर्मचारीमाथि गालीगलौज र हातपातका घटनाहरू बढ्दै गएकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरे । ‘ऋणीहरूले आफूले लिएको कर्जा बैंकको पैसा मात्रै होइन, जनताको निक्षेप हो भन्ने कुरा बुझ्न जरुरी छ,’ उनले स्पष्ट पारे ।
अहिलेको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सीईओ शाक्यले बैंकहरूले कर्जा रिकोभरीमा मात्र जोड दिन नहुने बताए । ‘अर्थतन्त्र कठिन अवस्थामा रहेकाले बैंकहरूले पनि ऋणीलाई सहजीकरण गर्ने भूमिका खेल्नुपर्छ,’ उनले भने ।
उनका अनुसार बैंकिङ क्षेत्रमा हाल पर्याप्त लगानीयोग्य रकम उपलब्ध छ र बैंकहरू लगानी गर्न तयार भएर बसेका छन् । साथै, जलविद्युत् आयोजना निर्माण भइरहेका क्षेत्रमा तल्लो तहसम्म आर्थिक गतिविधि विस्तार भइरहेको देखिएको उनले उल्लेख गरे ।