काठमाडौं । महिला उद्यमी विदुषी राणाले नेपालमा कुनै पनि उद्योग सुरु गर्नु अघि गम्भीर तयारी आवश्यक पर्ने बताएकी छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले उद्योग स्थापना मात्र होइन, त्यसको निरन्तरतामा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।
उनका अनुसार नीतिगत असहजता र कठिन वित्तीय अवस्थाले उद्योग सञ्चालनलाई झनै चुनौतीपूर्ण बनाएको छ । ‘नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्नु अत्यन्तै गाह्रो छ,’ उनले भनिन् ।
राणाले उत्पादनमूलक उद्योगका लागि बैंकको ब्याजदर अन्य क्षेत्रभन्दा कम हुनुपर्ने आवश्यकता औंल्याइन् । उनका अनुसार नेपाल राष्ट्र बैंकले आधार दरमा ०.५ प्रतिशत प्रिमियममा कर्जा उपलब्ध गराउने नीति ल्याए पनि व्यवहारमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
‘नीति कागजमा मात्र सीमित हुँदा उद्योगीले वास्तविक लाभ पाउन सकेका छैनन्,’ उनले गुनासो गरिन् । राणाले उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्न स्पष्ट नीति, सहज वित्तीय पहुँच र दीर्घकालीन सहयोग आवश्यक रहेको धारणा राखिन् ।