काठमाडौं । ज्योति विकास बैंकले प्रदेशका विभिन्न जिल्लाका स्वास्थ्य चौकी तथा अस्पतालहरूमा नवजात शिशुको शारीरिक तापक्रम सन्तुलनमा राख्न प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन उपलब्ध गराएको छ । दुर्गम क्षेत्रसम्म सुरक्षित प्रसूति सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो पहल गर्दै आएको हो ।
बैंकको पहलमा सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१२ स्थित सिसुवाखोला हेल्थ पोस्ट र मकालु गाउँपालिका–५ स्थित नुम प्राथमिक स्वास्थ्य केन्द्रमा बेबी वार्मर जडान गरिएको छ । यस्तै, खोटाङको जालपा वडा–१२ स्थित पुजनसेवा नगर अस्पताल र पाँचथरको फालेलुङ गाउँपालिका–२ स्थित एकतीन हेल्थ पोस्टमा पनि सो उपकरण जडान गरिएको बैंकले जनाएको छ ।
उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य संस्थाका पदाधिकारी, स्थानीय प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो । सोही अवसरमा अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिमसमेत प्रदान गरिएको थियो ।
बैंकका अनुसार हालसम्म देशभर ७० वटा बेबी वार्मर जडान गरिसकिएको छ । यसअघि विभिन्न चरणमा जडान गरिएका ६६ वटा बेबी वार्मरमार्फत हरेक वर्ष करिब २ हजार ४४२ भन्दा बढी नवजात शिशुले सेवा पाउँदै आएका छन् । हालसम्म करिब १२ हजार २१० भन्दा बढी शिशु प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भइसकेका छन् ।
स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने मान्यतालाई आत्मसात् गर्दै नवजात शिशुको अकाल मृत्यु न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले बैंकले यो कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । जीवनरक्षक स्वास्थ्य क्षेत्रमा बैंक तथा वित्तीय संस्थामध्ये अग्रस्थानमा रहेर काम गर्ने संस्थाका रूपमा ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।
बैंकले खुद मुनाफाबाट सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा ५० प्रतिशत बढी रकम छुट्याउँदै आएको जनाएको छ । साथै, गएको आर्थिक वर्षमा बैंकले करिब ४१ करोड रुपैयाँ कर तिरेर राष्ट्रप्रति आफ्नो दायित्व निर्वाह गरेको जनाएको छ ।