गोर्खा ब्रुअरी–कार्ल्सबर्गको पहल : पोखरा स्ट्रिट फेस्टिभल स्वच्छ बनाउने प्रयास

काठमाडौं । पोखरालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सम्मान गर्दै गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपले २७ औँ पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा स्वच्छ वातावरण अभियान सञ्चालन गरेका छन् । यो अभियान रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रा.लि.को सहकार्यमा अघि बढाइएको हो ।

प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका लागि परिचित पोखराको पहिचान जोगाउँदै पर्यटकको अनुभवलाई थप सहज र सुखद बनाउने उद्देश्यले सरसफाइलाई अभियानको केन्द्रमा राखिएको जनाइएको छ । ठूला सार्वजनिक महोत्सवका क्रममा ठूलो परिमाणमा फोहोर संकलन हुने भएकाले दिगो फोहोर व्यवस्थापन आवश्यक रहेको आयोजकको भनाइ छ ।

अभियानअन्तर्गत गोर्खा ब्रुअरीले बोतल र क्यान, पुनः प्रयोग गर्न मिल्ने फोहोर तथा सुख्खा फोहोरका लागि छुट्टाछुट्टै डस्टबिन उपलब्ध गराएको थियो । ती डस्टबिन लेकसाइड क्षेत्रका विभिन्न स्थानमा राखिएका थिए, जसले सर्वसाधारणलाई फोहोर व्यवस्थापनमा जिम्मेवार बन्न प्रोत्साहित गरेको आयोजकहरूले बताएका छन् ।

संकलित फोहोरलाई भद्रकाली वेस्ट म्यानेजमेन्टले वातावरणमैत्री र जिम्मेवार ढंगले प्रशोधन गर्ने सुनिश्चितता गरेको छ भने रेबानले स्थानीय रेष्टुरेन्ट तथा बारहरूलाई अभियानमा सक्रिय रूपमा सहभागी गराएको छ ।

अभियानबारे गोर्खा ब्रुअरीले पोखरा स्वच्छ र सुन्दर सहर भएकाले यसको संरक्षणमा निजी क्षेत्रको पनि जिम्मेवारी रहने उल्लेख गर्दै, फेस्टिभल अवधिमा गरिएको यो प्रयासले भविष्यमा पनि स्वच्छ पोखरा निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

महोत्सव अवधिमा मात्र सीमित नराखी यस अभियानलाई पोखरामा जिम्मेवार फोहोर व्यवस्थापन, जनचेतना अभिवृद्धि र दिगो पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन सहकार्यका रूपमा अघि बढाइने जनाइएको छ । वातावरणीय दिगोपन र सामुदायिक हितप्रतिको गोर्खा ब्रुअरीको निरन्तर प्रतिबद्धताको रूपमा यस अभियानलाई लिइएको कम्पनीले जनाएको छ ।

Share News