विकास नायक अवार्डको सिर्जना मौलिक तरिकाबाट गरिएको छ । अवार्डमा दुई पातसहितको मुना र ताराभित्र बुद्धको अनुहार देख्न सकिन्छ । मुनाले सिर्जना, विकास र समृद्धिलाई प्रतिविम्बित गर्छ । हरियो पात दिगो र समावेशी विकासको सूचक पनि हो । यसले प्रकृति, कृषि, वातावरण र जीवन्त अर्थतन्त्रलाई पनि संकेत गर्दछ । नेपाली समाजमा शुभकार्यमा शुभारम्भमा नै मुनाको प्रयोग गरिन्छ, जसले सफलताको कामना गर्छ । भी आकारमा रहेको मुनाले विजयको संकेत पनि गर्छ । पातमा देखिएका नसा र मुनाको डाँठ भागले विकासको जग बलियो छ भन्ने संकेत गर्दछ ।

तारा उत्कृष्टता, नेतृत्व र मार्ग दर्शनको प्रतीक हो । यसले समाज र राष्ट्रलाई दिशा देखाउने नायकत्व जनाउँछ । उज्यालो फैलाउने र अरूको लागि प्रेरणाको स्रोतको संकेतको रूपमा पनि तारालाई लिइन्छ । ताराभित्र रहेका आँखाहरूले दूरदर्शीता, सजगता, विवेकपूर्ण निर्णय क्षमताको संकेत गर्दछ । नाकले एकताको सन्देश दिन्छ भने निधारमा रहेको चिन्हले नैतिक चेतना र वृद्धिसहितको शक्तिलाई प्रतिविम्बित गर्दछ ।

बुद्ध प्रतीकले शान्तिको प्रतीक दिन्छ । अवार्डमा प्रयोग भएका रंगहरूले ऊर्जा, प्रतिवद्धता, परिवर्तन र विश्वासको संकेत गर्दछ । अवार्ड डिजाइन गर्दा विकास, शान्ति र एकतालाई विशेष जोड दिइएको छ । अवार्डको तलमाथि नेपाली काठ प्रयोग गरिएको छ । अवार्डको डिजाइनदेखि निर्माणसम्म सबै कार्यमा नेपालीपन देख्न सकिन्छ ।
