काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले उन्नाइसौं वर्ष पूरा गरी बीसौं वर्षमा प्रवेश गरेको अवसरमा पुस १९ गते देशभर विविध सामाजिक तथा रचनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालय लाजिम्पाटसहित जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्कीस्थित क्षेत्रीय कार्यालयहरूमा आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा कुल ७५५ युनिट रगत संकलन गरी सम्बन्धित स्थानीय रक्तसञ्चार गृहलाई हस्तान्तरण गरेको जनाएको छ ।
यसै अवसरमा ‘सन २०५० मा मेरो नेपाल’ शीर्षकमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूबीच राष्ट्रव्यापी चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा देशभरबाट ७९१ विद्यार्थीको सहभागिता रहेको बैंकले जनाएको छ । काठमाडौंकी रिया खड्काले सर्वोत्कृष्ट चित्र सिर्जना गर्दै प्रथम स्थान हासिल गरेकी छन्। उनले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् । यस्तै, हरेक क्षेत्रीय कार्यालयअन्तर्गत उत्कृष्ट चित्रकारलाई जनही १० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताका विजेता स्वतन्त्र विषयविज्ञको छनोटका आधारमा घोषणा गरिएको बैंकले जनाएको छ ।
बैंकले सातै प्रदेशलाई समेट्दै विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति, विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण, बागमती सफाइ महाअभियानका लागि सरसफाइ सामग्री हस्तान्तरण, सेवा आश्रमजस्ता गैरनाफामूलक संस्थालाई न्यानो सिरक र डस्ना सहयोग, फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरणलगायत कार्यक्रमसमेत गरेको छ ।
यस्तै, हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाका दुर्गम बस्तीका गरिब तथा विपन्न वर्गका व्यक्तिलाई जीविकोपार्जनका लागि सिलाइ मेसिन वितरण गरिएको छ भने ई–नेबल नेपालमार्फत बालबालिकालाई कृत्रिम हातसमेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित मुख्य कार्यक्रमको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले गरेका थिए । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले स्वागत मन्तव्य राखेका थिए भने बैंकको अवस्था, प्रगति तथा गतिविधिबारे प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले जानकारी गराएका थिए ।
कार्यक्रमका अवसरमा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन गरिएको थियो भने संस्थामा १० वर्ष सेवा अवधि पूरा गरेका ४७ जना कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बैंकका सञ्चालक, सेयरधनी, सेवाग्राही तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन बैंकका व्यवस्थापक तेजबहादुर गिरीले गरेका थिए ।