काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौं महानगरपालिका–१५ बस्ने ३४ वर्षीय विजय गुरूङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, 'पक्राउ परेकामध्ये इन्द्र र आइतेले युके पठाइदिने भन्दै सात जना पीडितबाट १३ लाख रुपैयाँ र विजयले युके पठाइदिने भन्दै एक जना पीडितबाट पाँच लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा पक्राउ गरिएको हो ।'
पक्राउ परेकामध्ये इन्द्र र आइतेलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा विजयलाई वैदशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता आचार्यले बताए ।