कांग्रेसमा विवाद चुलिँदा शेखरको सक्रियता, नीति र नेतृत्व महाधिवेशन छुट्टाछुट्टै गर्ने प्रस्तावमा छलफल

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष वा नियमित महाधिवेशन गर्ने भन्ने विषयमा विवाद चर्किँदै गएपछि वरिष्ठ नेता डा. शेखर कोइरालाले विवाद व्यवस्थापनमा सक्रियता बढाएका छन् । शनिबार बिहान आफू निकट नेताहरूसँग लामो छलफल गरेका कोइरालाले सोमबार पनि निरन्तर रूपमा नेताहरूसँग परामर्श गरेका हुन् ।

सोमबारको छलफलमा पार्टीका सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे सहभागी थिए । साथै केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल र काठमाडौंका नेता देवराज चालिसे पनि बैठकमा सहभागी रहेको एक नेताले जानकारी दिए ।

बैठकमा विशेष महाधिवेशन र नियमित महाधिवेशनका पक्षबीच बढ्दै गएको मनमुटाव कम गर्दै पार्टीलाई एकताबद्ध बनाउने उपायहरूबारे व्यापक छलफल भएको बताइएको छ । सहभागी एक नेताका अनुसार प्रस्तावको रूपमा नेपाली कांंग्रेसभित्र नीति महाधिवेशनको अवधारणा पनि अघि सारिएको छ ।

पार्टी विभाजनको जोखिम टार्न यसअघि केन्द्रीय समितिले तोकेको समयमै नीति महाधिवेशन गर्ने र त्यसपछि बैशाखमा नेतृत्व महाधिवेशन गर्ने विकल्पमा गम्भीर छलफल भएको स्रोतको भनाइ छ । उक्त प्रस्ताव केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले बैठकमा राखेका थिए, जसमा वरिष्ठ नेता डा. शेखर कोइराला पनि सकारात्मक देखिएको बताइएको छ ।

यस विषयमा डा. पोखरेलसँग बुझ्दा उनले भने, ‘हामी पार्टी एकता जोगाउन घनिभूत छलफलमा छौं । अहिले ठ्याक्कै कुन विषयमा के–के छलफल भयो भनेर भन्न हतार हुन्छ । तर यत्ति भन्न सकिन्छ डा. शेखर कोइरालाको नेतृत्वमा पार्टी विभाजन रोक्न अन्तिम समयसम्म छलफल जारी रहन्छ ।’

बैठकमा कार्यदल गठन गरेर सभापति शेरबहादुर देउवालाई प्रतिनिधिसभामा उम्मेदवार नबन्न अनुरोध गर्ने र प्रत्यक्षतर्फको टिकट बाँडफाँट गर्दा सभापति देउवा, वरिष्ठ नेता कोइराला र महामन्त्री गगन थापाको सहमतिमा गर्ने विषयमा पनि छलफल भएको छ । तिनै पक्षबीच सन्तुलन मिलाएर सहमति खोज्ने विषयमा पनि छलफल भएको थियो ।

यसै क्रममा सहमहामन्त्री बद्री पाण्डेले टिकट बाँड्ने अधिकार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएर अगाडि बढ्न सकिने प्रस्तावसमेत राखेका थिए । पाण्डेले पार्टी एकताका लागि सभापति देउवालाई आगामी निवचनमा त्याग गर्न आग्रह गर्न सकिने धारणा राखेका छन् ।

‘यत्रो वर्ष कांग्रेसरूपी घरको ओतमा बसेका नेताले त्यही घर भत्किन लाग्दा घर जोगाउन देउवाज्यूले पक्कै त्याग गर्नुहुनेछ,’ पाण्डेले भने, ‘कांग्रेस जोगाउन देउवाज्यू त्याग गर्न तयार हुनुहोस भन्ने हाम्रो आग्रह हो ।’

त्यसैगरी, माघ ५ गते उम्मेदवारी दर्ता भएपछि माघ १० गते केन्द्रीय भेला आयोजना गरी एकताको सन्देशसहित उम्मेदवारहरूलाई मतदातामाझ पठाउने विकल्पमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

पार्टीभित्र बढ्दो असमझदारीका बीच डा. शेखर कोइरालाको सक्रिय पहलले कांग्रेसलाई विभाजनबाट जोगाउने साझा आधार निर्माण हुने अपेक्षा नेताहरूले गरेको डा. पोखरेलले वताए । उनका अनुसार कांग्रेसको एकता जोगाउन अरू धेरै प्रस्ताव छन् । ती प्रस्ताव लिएर डा. कोइरालाले अव नियमित र विशेष महाधिवेशन पक्षधरहरूलाई भेट्ने तयारी गरिरहेका छन् ।

Share News