काठमाडौं । नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई नियमित महाधिवेशनको तयारीमा केन्द्रित हुन आग्रह गरेका छन् ।
उनीहरूले कांग्रेस केन्द्रीय कार्यसमितिले मंसिर १५ गतेको बैठकबाट पार्टीको १५औं महाधिवेशन पुस १६ गतेदेखि सुरु गरी पुस २६, २७ र २८ गते सम्पन्न गर्ने तालिका तय गरे पनि तालिका अनुसार काम हुन नसकेको दाबी गरेका छन् ।
पाँच सभापतिहरूले एक विज्ञप्ति जारी गदै भनेका छन्, ‘महाधिवेशन पूर्व अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको कार्य तोकिएको समयभित्र पूरा हुन नसकेपछि निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन सम्पन्न गर्न नसकिएको हो ।’
विशेष महाधिवेशनको औचित्य सकिएको दाबी गर्दै ती सभापतिहरूले तोकिएकै समयमा महाधिवेशन गर्न सक्रिय रहन पार्टी सदस्यहरूलाई आग्रह गरेका छन् । उनीहरूले भनेका छन्, ‘अब एकताबद्ध हुँदै फागुन २१ को निर्वाचनमा दलका नेताहरूलाई जिताउन लागौं ।’
