काठमाडौं । देशको विकासमा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउने १० जना विकास नायकहरू सम्मानित भएका छन् । विकासन्युजद्वारा आयोजित कार्यक्रममा सहभागी विकास नायक एवं अन्य व्यक्तित्वले यस्ता पहलले राष्ट्र निर्माणमा थप ऊर्जा प्रदान गर्ने बताएका छन् । उनीहरूले विकास नायक कार्यक्रमलाई निरन्तरता दिइराख्नुपर्नेमा समेत जोड दिएका छन् ।
फर्स्ट च्वाइस फुड्स प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले कृषि क्षेत्रलाई अवार्डसँग जोड्ने प्रदर्शन असाध्यै राम्रो रहेको बताए । उनले भने, ‘हामी माटोमा रमाउने किसान हौं । कागजमा होइन, माटोमा रमाउने हो । हामी किसानसँगै रमाउँछौं । भविष्यमा पनि किसानलाई जोड्नुपर्छ र यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्छ ।’
कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण उत्पादनको बिक्री प्रबन्ध गरी कृषकको जीवनस्तर सुधारमा टेवा दिएबापत अध्यक्ष पौडेललाई विकास नायक, २०८२ बाट सम्मानित गरिएको थियो ।
यसैगरी, सानीमा ग्रुपका सञ्चालक जीवा लामिछानेले नेपालको विकासमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने अग्रज तथा दिग्गजहरूलाई सम्मान गरिएकोमा खुसी व्यक्त गरे । उनले यसलाई ठूलो सम्मान र थपिएको जिम्मेवारीका रूपमा लिएको बताए ।
लामिछाने भने, ‘विभिन्न क्षेत्रमा उहाँहरूले गर्नुभएको योगदान एकदमै सराहनीय छ । इमान्दारीपूर्वक र निष्ठापूर्वक आबद्ध भएर ठूलो योगदान गर्नुभएको छ ।’
लामिछानेलाई श्रृजनशील र निष्ठापूर्ण व्यापार व्यवसाय गरी आर्थिक सम्बृद्धिमा योगदान गरेबापत विकास नायक, २०८२ बाट सम्मानित गरिएको थियो ।
यस्तै, नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले विकासन्युजले देशको विकासलाई उजागर गर्ने उल्लेखनीय र उदाहरणीय काम गरेको प्रशंसा गरे ।
उनले कार्यक्रममार्फत विकास प्रक्रियामा सक्रिय विभिन्न १० क्षेत्रका अब्बल व्यक्तित्वहरूलाई ‘विकास नायक’का रूपमा सम्मान गरिएको उल्लेख गर्दै यसले सम्मानित व्यक्तिहरूलाई थप हौसला र प्रेरणा प्रदान गर्ने बताए ।
डेपुटी गर्भनर मिश्रले पछिल्लो समय समाजमा नकारात्मक समाचारहरूको प्रभाव बढिरहेको सन्दर्भमा यस्तो सकारात्मक पहल अत्यन्तै महत्वपूर्ण भएको उल्लेख गरे ।
उनले भने, ‘नकारात्मकता बढी फैलिरहेको वर्तमान अवस्थामा यस किसिमका कार्यक्रमहरूले सकारात्मक ऊर्जा प्रवाह गर्छन् । सम्मानित नायकहरूलाई अझ सक्रिय र जिम्मेवार बन्न प्रेरित गर्ने मात्र होइन, समाजमा पनि आशा र प्रेरणाको सन्देश फैलाउँछन् ।’
यस्ता कार्यक्रमहरूले देश विकासमा योगदान पु¥याएका व्यक्तित्वहरूको भूमिकालाई उजागर गर्दै समग्र राष्ट्रिय विकास प्रक्रियामा महत्वपूर्ण टेवा पुग्ने उनको दाबी छ ।
यस्तै, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले देशमा सकारात्मक काम गर्ने राष्ट्रिय अर्थतन्त्रलाई सहयोग गर्ने, समृद्धिमा योगदान दिने र रोजगारी सिर्जना गर्ने व्यक्तिहरूलाई प्रशंसा र पुरस्कृत गर्ने चलनले मानिसहरूलाई थप उत्साहित गर्ने बताए ।
ज्ञवालीले भने, ‘अहिले हरेक कुरामा नकारात्मकता मात्र देखिरहेको बेला एउटा अग्रणी सञ्चारमाध्यमले असल काम गर्ने मानिसहरूलाई सराहना गर्नुपर्छ भनेर विकास नायक घोषणा गर्यो, यो अत्यन्त सराहनीय छ ।’
उनले विकास नायकको भूमिका आफ्नो हरेक क्षेत्रबाट विकासलाई नेतृत्व गर्न सक्ने अब्बल र अगाडि रहेर अरूलाई बाटो देखाउने हुनुपर्नेमा जोड दिए ।
नबिल बैंकका अध्यक्ष तथा सीबीएफएनका अध्यक्ष उपेन्द्र पौडेलले यो पहिलो कार्यक्रम भए पनि परिपूर्णताको स्तर राम्रो रहेको बताए ।
पौडेलले यसको निरन्तरताको अपेक्षा गर्दै यो सम्मानले थप जिम्मेवारी बढाएको र भोलि कसैले पनि किन यिनलाई मान्यता दिइयो त भन्ने वातावरण नहोस् भन्ने कामना गरे ।
वित्तीय सेवामार्फत आर्थिक विकासमा विशिष्ट योगदान गरेबापत नबिल बैंकलाई सम्मानित भएको थियो । नबिल बैंकले विगत चार दशकको अवधिमा वित्तीय समावेशीकरण, नवप्रवर्तन, डिजिटल बैंकिङका साथै प्राथमिक क्षेत्रमा दीर्घकालीन लगानीमार्फत देशको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान गरेको छ ।
यस्तै, नेपाली उद्योग परिसंघ (सीएनआइ) का पूर्वअध्यक्ष हरिभक्त शर्माले विकास टोलीले असाध्यै राम्रो र रचनात्मक कामको थालनी गरेको बताए । उनले भने, ‘असल काम गर्ने मान्छेहरूलाई यो निकै ठूलो प्रेरणा हो । यस्ता खालका गतिविधिहरू भइरहनुपर्छ ।’
उनले यस्ता कार्यक्रमको निरन्तरताले नेपालको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
अभिनेत्री सुरक्षा पन्तले कार्यक्रमलाई एकदम व्यवस्थित र राम्रो उद्देश्य लिएर बनेको बताइन् । उनले भनिन्, ‘आफ्नो क्षेत्रमा लगनशील, निष्ठावान, इमान्दार र पूर्ण रूपमा इमानदारीसाथ काम गर्नु नै सायद त्योभन्दा ठूलो योगदान अरू केही हुनै सक्दैन ।’
उनी कला तथा मनोरञ्जन क्षेत्रबाट देशको प्रतिष्ठा बढाए बापत विकास नायक, २०८२ बाट सम्मानित भएकी हुन् ।
यस्तै, पोल्ट्री व्यवसायी गुणचन्द्र विष्टले कार्यक्रमको उद्देश्य राम्रो भएको औंल्याए । उनले अवार्ड दिने चलन भए पनि त्यसको कदर र पछि कामको खोजी गर्ने चलन नरहेकोमा भने असन्तुष्टि जनाए ।
‘अवार्ड दिनेले पनि सम्मानित व्यक्तिले के गरिरहेको छ भन्नेबारे बहस चलाइरहनुपर्थ्यो,’ उनले भने ।
विज्ञापन व्यवसायी शम्भु अधिकारीले विकासन्युजले आयोजना गरेको विकास नायकको प्रयास प्रशंसनीय र सराहनीय रहेको बताए ।
राज्यले नचिनेका विकास नायकहरू विकासन्युजले खोजेर चिनाएको दाबी गरे । विकासका नायकहरूलाई सत्तमार्गसँगै अगाडि बढ्ने हौसला र उत्सुकता दिएको बताए ।
यस्तै, गोल्डस्टार सुजकी कार्यकारी निर्देशक विदुषी राणाले यस कार्यक्रमले समाजमा केही गरौं भन्नेहरूका लागि प्रेरणा जगाएको बताइन् । विकासन्युजले साँच्चिकै विकास नायकहरू सम्मानित गरेको उनको भनाइ छ ।
उनले भनिन्,‘ विकासन्युजले जुन व्यक्तिहरूलाई सम्मानित गरेको छ, ती व्यक्तिहरूले समाजलाई धेरै योगदान दिएका छन् । आगामी दिनहरूमा पनि हामीले यस्तै विकास नायकहरू चिन्न पाइयोस् ।’
टेक्सास इन्टरनेसल कलेजका बिजनेस डाइरेक्टर नारायण पोखरेलले देशमा खडेरी परेका बेला यो कार्यक्रमले आशा जगाएको बताए । विकासका नायक तथा विकास बहस देख्दा नयाँ आयाम देखाएको महसुस भएको दाबी उनको छ ।
उनले विकास नायकहरुले विभिन्न क्षेत्रहरूमा के योगदान पुर्याएको भन्दै प्रशंसा गरे । विकास नायक छनोट समितिका संयोजक कृष्णहरि बास्कोटाले मुलुकमा राम्रो काम गर्ने मानिस र संस्थाको कमी नभएको र उनीहरूका राम्रा कुराहरू प्रचारप्रसार गर्दा अरूलाई पनि प्रेरणा मिल्ने बताए ।
उनले भने, ‘डाक्टरले बिरामीको मन जित्ने, कलाकारले परिवर्तनकारी भनाइ पस्किने र व्यवसायीले उपभोक्ताको पक्षमा काम गर्ने भावना राख्नुपर्छ, ’ उनले भने ।
विकास नायकहरूले मुलुकलाई विश्वमै परिचित गराउने गरी योगदान गर्नुपर्ने बताउँदै कार्यक्रमलाई विशिष्टीकृत कार्यक्रममध्ये उत्कृष्टमध्ये उत्कृष्ट कार्यक्रमको संज्ञा दिए ।
उनले विकासन्युजको यो पहलले देशमा असल काम गर्ने व्यक्तिहरूलाई प्रोत्साहन दिने र विकासको गतिलाई तीव्रता दिने अपेक्षा गरिएको बताउँदै पारदर्शिता र निरन्तरतामा भने ध्यान दिनुपर्ने बताए ।