टाइगर कप २०८२ माघ ९ गते देखि, टिकटिङ पार्ट्नरमा ‘खल्ती’

काठमाडौं । नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता ‘द टाइगर कप’को छैटौँ संस्करणमा डिजिटल वालेट ‘खल्ती’ टिकटिङ पार्टनरका रूपमा जोडिएको छ ।

टाइगर ग्रुप अफ पोखराद्वारा आयोजना हुँदै आएको यो प्रतियोगिता माघ ९ गतेदेखि १७ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने छ । यस वर्षको प्रतियोगितामा ७ पुरुष र ७ महिला गरी १४ टोली सहभागी हुँदैछन्, जसमा ४ अन्तर्राष्ट्रिय टोलीसमेत रहेका छन् ।

आयोजकका अनुसार टाइगर कपको टिकट मूल्य ३ सयदेखि ५ सय रुपैयाँसम्म तोकिएको छ । दर्शकहरूले प्रतियोगिताका सबै खेलका टिकट खल्ती एपमार्फत सहजै खरिद गर्न सक्नेछन् । डिजिटल टिकटिङको व्यवस्थाले दर्शकलाई खेलस्थलमा पुगेर प्रत्यक्ष रूपमा खेलाडीको उत्साह र प्रतिस्पर्धाको मजा लिन थप सहज बनाउने अपेक्षा गरिएको छ ।

राष्ट्रियस्तरमै सबैभन्दा ठूलो भलिबल प्रतियोगिताका रूपमा परिचित टाइगर कपले अघिल्ला संस्करणदेखि नै देशभरका दर्शक र प्रशंसकको ध्यान आकर्षित गर्दै आएको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले टाइगर कपसँगको साझेदारीलाई खेलकुद प्रेमीका लागि उत्साहजनक भएको बताउँदै डिजिटल टिकटिङमार्फत दर्शकको अनुभव अझ उत्कृष्ट बनाउने विश्वास व्यक्त गरे । उनले सहज रूपमा अनलाइन टिकट लिएर खेलको भरपुर आनन्द लिन सबैलाई आग्रह गरेका छन् ।

Share News