काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको विवरण अनलाइनमार्फत अद्यावधिक गर्न सकिने प्रणालीको परीक्षण शुभारम्भ गरेको छ ।
कम्पनीमा रहेका ग्राहक विवरण क्युआर कोडमार्फत लिंक प्राप्त गरी अनलाइन केवाईसी अपडेट गर्न सकिने व्यवस्था (अनलाइन केवाईसी अपडेट सिस्टम) को परीक्षण हाल दूरसञ्चार कार्यालय, सुन्धाराबाट सुरु गरिएको नेपाल टेलिकमले जनाएको छ ।
परीक्षण कार्यको शुभारम्भ नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले संयुक्त रूपमा गरेका हुन् ।
कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृत मातन्छेले अनलाइन केवाईसी प्रणालीले नेपाल टेलिकमको सेवालाई थप सहज र ग्राहकमैत्री बनाउने विश्वास व्यक्त गरे । त्यस्तै, प्रादेशिक निर्देशक यादवले थोरै समयमा धेरै काम सम्पन्न हुने भएकाले यसले कम्पनीको उत्पादकत्वमा समेत सकारात्मक प्रभाव पार्ने बताए ।
दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले डिजिटल रूपान्तरण, पेपरलेस कार्यप्रणाली तथा डाटा अद्यावधिक प्रक्रियालाई प्रभावकारी बनाउन यो प्रणाली उपयोगी हुने उल्लेख गरे ।
यस प्रणालीअनुसार नाम वा अन्य विवरण सच्याउनुपर्ने ग्राहकहरूले ग्राहक सेवा केन्द्रमा राखिएको क्युआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्नेछन् । सो विवरणका आधारमा नेपाल टेलिकमको प्रणालीले ग्राहक विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ ।
हाल पहिलो चरणमा क्युआर कोडमार्फत विवरण भर्न सकिने गरी परीक्षण सुरु गरिएको छ । भविष्यमा भने नेपाल टेलिकमको वेबसाइट तथा मोबाइल एपमार्फत पनि केवाईसी अपडेट गर्न सकिने व्यवस्था गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
पहिलो चरणको परीक्षण सुन्धारास्थित दूरसञ्चार कार्यालयबाट सुरु गरिएको र परीक्षण सफल भएपछि क्रमशः काठमाडौं उपत्यकाका अन्य कार्यालय तथा उपत्यकाबाहिरका कार्यालयहरूमा समेत यो सुविधा विस्तार गरिने नेपाल टेलिकमले जनाएको छ ।