काठमाडौं । पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने काम भइरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि सेती पुलसम्मको क्षेत्रमा काम सकिएको छ । अन्य क्षेत्रमा विद्युत् तार जमिनमुनि गाड्ने कामले निरन्तरता पाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले पोखरा र भरतपुरमा बिजुलीको तार भूमिगत गर्नका लागि पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना सञ्चालन गरिरहेको छ । यसै परियोजनाले पोखरामा तीन वर्षदेखि काम गरिरहेको हो ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक-रत्नचोक-राष्ट्र बैंक चोक-शहिद चोक-लेकसाइड-हल्लन चोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा अहिले विद्युत् तार भूमिगत गर्ने कार्य भइरहेको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले बताए । उनका अनुसार यस आयोजनाको हालसम्म ६५ प्रतिशत काम सकिएको र न्युरोड क्षेत्रमा भने केही समयपछि काम हुनेछ ।
‘पोखराको बिजुलीको स्रोत कुँडहर सवस्टेशनदेखि काम सुरु गरेर पूर्वमा विमानस्थलद्वार र पश्चिममा सेती पुलसम्मको क्षेत्रमा काम सकिएको छ, बाँकी अन्य कतिपय क्षेत्रमा लाइन चार्ज गर्न बाँकी छ भने अन्य क्षेत्रमा पछिल्लो समय तीव्रताका साथ काम अघि बढाइएको छ,’ आयोजना प्रमुख सुवेदीले भने ।
उनले आगामी जुन ३१ गतेसम्म निर्माणको म्याद रहेको र सो समयसम्म सबै काम सम्पन्न हुने विश्वास लिइएको जानकारी दिए । पोखरामा विद्युत् तार भूमिगत गर्ने परियोजना सन् २०२२ मा सुरु भएको हो । सुरुआती चरणमा डिजाइन, भूगर्भ अध्ययन लगायतमा समय लागेकाले काम भने एक वर्षपछि मात्र सुरु भएको थियो ।
आयोजना प्रमुख सुवेदीले ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको बताए । यसरी तार भूमिगत गरेपछि ठाउँठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घर घरमा बिजुली पुर्याइएको छ ।
विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ । पोखराको २३ किमी क्षेत्रको बिजुलीको तार भूमिगत गर्नका लागि १ अर्ब ७० करोड रुपैयाँ बजेटमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्ससँग ठेक्का सम्झौता गरिएको छ । आयोजना प्रमुख सुवेदीले भरतपुरको भने ७४ प्रतिशत काम सकिएको जानकारी दिए । भरतपुरको लागत १ अर्ब ३० करोड रुपैयाँ छ ।
पोखरा महानगरमा बिजुलीको तार भूमिगत गरिएसँगै इन्टरनेट र टेलिफोनका तारहरुलाई व्यवस्थित गर्ने बारेमा महानगरले चासो दिएको छ । महानगरले इन्टरनेट सेवा प्रदायकहरुसँग पटकपटक छलफल गरी बिजुली लगायतका पोलहरूमा अव्यवस्थित रूपमा रहेका अनावश्यक तारहरू तत्काल हटाउन आग्रह गरेको छ । महानगर प्रमुख धनराज आचार्यले सेवा प्रदायकलाई यथाशक्य छिटो विद्युत् प्राधिकरणसँग समन्वय गरी सेवामा सहकार्य गर्न आग्रह गरिएको बताए ।
उनले भने, ‘पोखरा बजार क्षेत्रलाई ताररहित बनाउने योजनाअनुसार अहिले विद्युत् प्राधिकरणले काम गरिरहेको छ । यस कार्यमा सहयोगका लागि इन्टरनेट सेवाप्रदायकहरुसँग आग्रह गरेका छौँ । उहाँहरूले नहटाए महानगर आफैंले हटाउँछ ।