६ लाख २८ हजारले हेरे परान, मुगलानको कमाई ६ लाख रुपैयाँ

चलचित्रको व्यावसायिक विवरण सार्वजनिक

काठमाडौं । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो । 

गत मङ्सिर १२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘हर्ष’ ले पुस १९ गतेसम्म २८ लाख ७८ हजार ८३६ रुपैयाँ आम्दानी गरेको छ । एकता पौडेलले निर्देशन गर्नुभएको चलचित्र ‘हर्ष’ का लागि जम्मा ८ हजार ८६८ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारले अभिनय गरेका छन् ।

गत मङ्सिर १८ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘अभिमन्यूः च्याप्टर १’ ले सोही अवधिसम्म २१ लाख ५८ हजार ४०२ रुपैयाँ कमाइ गरेको छ । सुशान्त गौतमले निर्देशन गरेको उक्त चलचित्रको ६ हजार ८९२ वटा टिकट बिक्री भएका छन् । चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरीलगायत कलाकारले अभिनय गरेका छन् ।

मङ्सिर २६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘पीआर’ ले सोही अवधिमा ६ लाख ८२ हजार २८३ रुपैयाँ कमाइ गरेको छ । उक्त चलचित्रको कूल २ हजार १६६ वटा टिकट बिक्री भएका छन् । शोभित बस्नेतले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारले अभिनय गरेका छन् । 

गत पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पनि घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सकेको छैन । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गरेको उक्त चलचित्रले सोही अवधिमा ९३ लाख ८३ हजार ५१६ रुपैयाँ कमाइ गरेको छ । उक्त चलचित्रका लागि कूल २९ हजार ६८३ वटा टिकट बिक्री भएका छन् ।

भ्रष्टाचार र बेथिति विरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् । 

गएको पुस १० गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘मुगलान’ ले ६ लाख ५ हजार २९४ रुपैयाँ कमाइ गरेको छ । अभिनेता प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारीलगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रको २ हजार २८८ वटा टिकट बिक्री भएका छन् । आशिष ढकालको निर्देशनमा तयार भएको उक्त चलचित्रले निकै न्यून कमाइ गरेको छ ।

हाल प्रदर्शनरत चलचित्रमध्ये गत कात्तिक १४ गतेदेखि प्रदर्शन सुरू भएको ‘परान’ ले १७ करोड ७१ लाख १७ हजार ८३० रुपैयाँ कमाइ गरेको छ । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्रले प्रदर्शनको ५१ औँ दिन पूरा गर्दा गएको शनिबारसम्म ६ लाख २८ हजार ७९३ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, सुव्रत आचार्य लगायतले अभिनय गरेका छन् । 

चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक हरेक सोमबार गर्दै आएको छ ।

Share News