काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक विवादका बीच बुधबार (आज) विशेष महाधिवेशन औपचारिक रूपमा आह्वान गरिँदैछ । विशेष महाधिवेशनको माग गर्दै आएको पक्षले गठन गरेको दोस्रो विशेष महाधिवेशन सचिवालयले आज देशभरका प्रतिनिधिहरूलाई महाधिवेशनका लागि आह्वान गर्न लागेको हो ।
सचिवालयका तर्फबाट शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग औपचारिक पत्राचारसमेत गरिएको छ । सचिवालयका सदस्य तथा नेता मनोजमणि आचार्यले आजै विशेष महाधिवेशन आह्वान गरिने जानकारी दिँदै पार्टीलाई विद्यमान संकटबाट निकास दिन यो कदम चालिएको बताए ।
उनका अनुसार पार्टी विधानअनुसार नेतृत्वले समयमै नियमित महाधिवेशन गर्न नसकेपछि विशेष महाधिवेशन अपरिहार्य भएको निष्कर्षमा सचिवालय पुगेको हो । पार्टीलाई विधि र पद्धतिमा फर्काउन विशेष महाधिवेशनको आह्वान गरिएको हो ।
‘पत्रकार सम्मलेनमार्फत नेतृत्वको जवाफदेहिता सुनिश्चित गर्ने र आन्तरिक लोकतन्त्र पुनःस्थापना गर्ने उद्देश्यले विशेष महाधिवेशनको आह्वान गरिएको हो,’ आचार्यले बताए ।
पछिल्लो समय ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरू आफूहरूको सम्पर्कमा रहेको दाबी आचार्यको छ । संस्थापन समूहले व्यापक दवाव दिए पनि दुइ तिहाई प्रतिनिधि विशेष महाधिवेशनमा उपस्थित हुने जानकारी आएको आचार्यले बताए ।
विशेष महाधिवेशनको घोषणासँगै कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष थप सतहमा आएको छ । एकातर्फ संस्थापन पक्षले यस कदमलाई असंवैधानिक र पार्टी विभाजनतर्फ उन्मुख प्रयास भन्दै आलोचना गरिरहेको छ भने अर्कोतर्फ विशेष पक्षधरहरूले यसलाई पार्टी बचाउने अन्तिम विकल्पको रूपमा प्रस्तुत गरेका छन् ।
सहमहामन्त्री बद्री पाण्डेले अहिले विवाद गर्ने समय नभएको बताउँछन् । उनले भने, ‘विशेष महाधिवेशनको पक्षमा रहेका साथीहरूले पनि शान्त भएर सोंचेपछि वातावरण सहज बन्दै जान्छ ।’
राजनीतिक विश्लेषकहरूका अनुसार आजको आह्वानले नेपाली कांग्रेसको आन्तरिक राजनीति नयाँ मोडमा प्रवेश गर्ने संकेत गरेको छ । अब पार्टी नेतृत्वले यसलाई कसरी सम्बोधन गर्छ र विवाद संवादमार्फत समाधान हुन्छ कि टकरावतर्फ जान्छ भन्ने विषय चासोको केन्द्र बनेको छ ।
पछिल्लो समय वरिष्ठ नेता डा. शेखर कोइराला विभाजन रोक्न लागेका छन् । कोइराला पक्षले विशेष महाधिवेशनलाई संकल्प भेलाको रूपमा लैजाने, आगामी संसदीय चुनावका उमेदवारहरू कोइरालासहित सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले आपसी सहमतिमा बाँड्ने र नयाँ नेतालाई आगामी प्रधानमन्त्रीको रूपमा अगाडि लिएर जाने सहितका प्रस्तावहरू ल्याएको छ ।
बुधवार अपरान्ह राष्ट्रियसभाका उमेदवारहरूको मनोनयनपछि वार्तालाई घनिभूत बनाउने तयारी कोइराला पक्षधर नेताहरूले गरेका छन् ।